सत्तारुढ नेकपा सचिवालयको निर्णय विवादित, यी नेताले गरे बहिस्कार
काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय गरेको निर्णय विवादमा परेको छ । आजमात्रै भएको ७७ जिल्ला इन्चार्ज र सह इन्चार्जको भागभण्डा विवादित बनेको हो ।
तत्कालीन एमाले र माओबादी केनद्रवीच एकीकरण भइ बनेको नेकपालाई पूर्णता दिने क्रममा विवाद भएपछि सचिवालयले एउटै जिल्लामा १० जनासम्म सहसंयोजक तोकेर मिलाउने प्रयास गरेपनि जिल्ला इन्चार्जले पद अस्वीकार गरेका छन् ।
डडेलधुरा जिल्ला इन्चार्ज तोकिएका नेकपाका नेता खगराज भट्टले जिम्मेवारी अस्वीकार गरेका छन् । उनले आफुलाई अपमान गरिएको भन्दै इन्चार्ज पद अस्वीकार गरेको बताए ।
‘मलाई अपमानित ढंगले इन्चार्जको जिम्मेवारी तोकिएको छ, म यो जिम्मेवारी अस्वीकार गर्छु,’ भट्टले शिलापत्रसँग भने ।
पार्टीको प्रदेश कमिटी एकताकै बेला आफुलाई प्रदेश सहइन्चार्ज या प्रदेश अध्यक्ष मध्ये एक पद दिनुपर्ने अडानमा रहेका भट्टले त्यसवेला पनि पद पाएनन् ।
इन्चार्जमा तत्कालीन एमालेका नेता कर्ण थापा र सहइन्चार्जमा तत्कालीन माओबादी तर्फका नेता लक्ष्मी जोशी चयन भएपछि नै उनी रुष्ट थिए ।
नेकपा सचिवालयले आज केन्द्रीय सदस्यको जिम्मेवारी र ७७ जिल्ला तथा ६ वटा महानगरपालिकाको इन्चार्ज र सह इन्चार्ज टुंगो लगाएपछि सुदुरपश्चिमका तत्कालीन माओबादीको प्रभावशाली मानिने नेता भट्ट आक्रोसित बनेका हुन् ।
डडेलधुराका नेता भट्टले यसअघि भएका तीनवटा निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवासँग पराजय व्यहोरिसकेका छन् ।
नेकपाको सचिवालयले बिवाद साम्य पार्न एउटा जिल्लामा १० जनासम्म सह इन्चार्ज तोकेको छ ।