नीजि विद्यालयका अभिभावकलाई अर्को खुशीको खबर
काठमाडौं—नीजि विद्यालयका अभिभावकलाई अर्को खुशीको खबर छ । बालेन सरकारले निजी विद्यालयलाई वैशाख महिनाको शुल्क नलिन निर्देशन दिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले वैशाख २१ गतेदेखिमात्रै पठनपाठन सुरु हुनेहुँदा वैशाख महिनाको कुनै पनि शुल्क नलिन विद्यालयलाई निर्देशन दिएको हो ।
केन्द्रका प्रवक्ता महेन्द्र पराजुलीले कुनै विद्यालयले बैशाखको शुल्क मागेमा नदिन अभिभावकलाई अनुरोध गरेका छन् ।
सरकारले वैशाख १५ देखि भर्ना थालेर वैशाख २१ गतेदेखिमात्रै पठनपाठन थाल्ने भनेपछि अभिभावकहरूलाई वैशाख महिनाको शुल्क तिर्नुपर्ने की नपर्ने भन्ने अन्यौलता छाएको थियो।
किनभने यसअघिसम्म वैशाख १ बाट नै भर्ना अभियान सञ्चालन भइ शैक्षिक सत्र सुरु हुन्थ्यो। अभिभावकहरूले पनि वैशाख महिनाबाटै शुल्क तिर्दै आएका थिए।
तर,यसपाली भने यो अवधिमा पठनपाठन नै नहुने भएकाले कुनै पनि शुल्क निजी विद्यालयले लिनै नपाउने शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता पराजुलीले जानकारी दिए।
नियम विपरीत शुल्क लिएको पाइएमा ती विद्यालयलाई कारबाही हुने उनले चेतावनी दिए।