विश्वमा घट्दा पनि नेपालमा किन बढ्यो पेट्रोलियम पदार्थको मूल्य ?
काठमाडौं – नेपाल आयल निगमले गए रातिदेखि फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोलको मूल्य स्थिर राख्दै निगमले मट्टितेल र डिजेलको मूल्यमा प्रति लिटर ३० रुपैयाँ र हवाई इन्धनमा प्रति लिटर पाँच रुपैयाँ बढाएको हो । अब मट्टितेल र डिजेलको मूल्य काठमाडौं र यस वरपरका जिल्लामा प्रतिलिटर २३७ पुगेको छ भने हवाई इन्धनको मूल्य प्रतिलिटर २५६ पुगेको छ ।
यसरी भाउ बढाउँदा पनि निगमलाई पाक्षिक रुपमा अझै पनि सात अर्ब ८१ करोड ६१ लाख रुपैयाँ घाटा रहेको जनाइएको छ । तर,अन्तर्राष्ट्रिय बजारमा पछिल्लो सातादेखि तेलको भाउमा उल्लेख्य कमी आइसकेको छ । उता तेलको भाउ बढेकोले यता बढाउनुपर्ने बाध्यता रहेको बताइरहँदा अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ घट्दा किन अचाक्ली बढाइयो निगमले बताएको छैन ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेर ११२ डलरसम्म पुगेर अहिले आरोलो लागिसक्दा पनि मूल्य वृद्धि हुनु गम्भीर विषय हो । गत जुन १८ मा अन्तर्राष्ट्रिय बजारमा रहेको कच्चा तेलको मूल्य र गत मार्च ३ मा अमेरिका–इरान युद्ध शुरु हुनुअघिसम्म हप्ताको मूल्य एउटै थियो । अर्थात् ती दुबै समयमा ७३.७७ डलर प्रतिब्यारेल रहँदा नेपालमा पेट्रोल र डिजेलको मूल्य दुवै मितिमा झण्डै समान थियो ।
मार्च ९ मा अन्तर्राष्ट्रिय बजारमा ९४ डलर मूल्य हुँदा यता मूल्य समायोजन गरी मार्च १६ मा पेट्रोलको मूल्य १६९ रुपैयाँ ५० पैसा पुर्याइयो । त्यसैगरी डिजेलको मूल्य १६४ रुपैयाँ ५० पैसा कायम गरियो । अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेर ९१ डलर प्रति ब्यारेल हुँदा नेपालमा पेट्रोलको मूल्य २१९ रुपैयाँ र डिजेलको मूल्य २३७ रुपैयाँ तोकिएको छ ।