माइला लामा पक्राउपछि विप्लव आक्रोशित, विज्ञप्ति मार्फत गरे यस्तो घोषणा
काठमाडौं – नेत्रविक्रम चन्द्र विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज माइला लामा पक्राउ परेपछि पार्टी महासचिव विप्लव आक्रोशित भएका छन ।
सोमबार एक विज्ञप्ति जारी गर्दै विप्लवले सामाजिक फासिवादी केपी–पिके सरकारले पार्टी सांगठनिक कामको सिलसिलामा भक्तपुरको एक घरमा सुतिरहेको अवस्थामा हतियारधारी सुरक्षा फौजले संकटकाललाई बिर्साउने गरी नेता लामालाई गिरफ्तार गरेको भन्दै घोर भत्र्सना गरेका छन् ।
महासचिव विप्लवले लोकप्रिय जनकलाकार समेत रहेका नेता लामा र जेलमा रहेका स्थायी समिति सदस्य सुदर्शन लगायत सबै राजबन्दीहरुलाई बिना सर्त ससम्मान रिहा नगरे योजनाबद्ध प्रतिरोध गर्ने चेतावनी समेत दिएका छन् । महासचिव विप्लवले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो पार्टीका केन्द्रीय सदस्य, भ्याली इन्चार्ज तथा लोकप्रिय जनकलाकार माइला लामालाई यो सामाजिक फासिवादी केपी—पीके सरकारले सांगठनिक कामको सिलसिलामा भक्तपुरको एक घरमा सुतिरेहका अवस्थामा हतियारधारी सुरक्षा फौजले संकटकाललाई बिर्साउने गरी गिरफ्तार गरेको छ । केपी सरकारको यस्तो रवैयाको हाम्रो पार्टी घोर भत्र्सना गर्नुका साथै तुरुन्त ससम्मान रिहा गर्न जोडदार माग गर्दछौं ।’
केपी—बादल प्रशासनले एकातिर वार्ताको कुप्रचार गर्ने, अर्कोतिर नेता, कार्यकर्तालाई गिरफ्तार, हत्या, गोली हान्नुका साथै झुठो मुद्दा लगाएर जेल चलान गर्नुले यो सरकार देशमा वास्तविक शान्ति, समृद्धि र विकासको पक्षमा नरहेर जवर्जस्त युद्धमा धकेली जनतामाथि थप शोषण गर्नु, दमन थोपर्नुका साथै देशमा विदेशी शक्तिको चलखेललाई बढवा दिन लागेको विज्ञप्तिमा उल्लेख छ । यसप्रति सबै देशभक्त, सच्चा लोकतन्त्रवादी, जनपक्षीय शक्तिहरु सचेत हुँदै नयाँ प्रतिरोधमा उत्रिन अब ढिला गर्न नहुने उनले बताएका छन् ।
