सहकारीपीडितलाई बचत फिर्तामा कोशी प्रदेश अगाडि

बिहिबार, २४ बैशाख २०८३

काठमाडौं— समस्याग्रस्त सहकारी व्यवस्थापन समिति कोशी प्रदेशले समस्याग्रस्त घोषणा गरिएको अम्बे–कोशी बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको रकम फिर्ता तथा ऋण असुली कार्यलाई तीव्र बनाएको जनाएको छ ।

समितिका सदस्य जीवन काफ्लेका अनुसार दोस्रो चरणको बचत फिर्ता प्रक्रिया अन्तर्गत २० हजार रुपैयाँभन्दा माथि र १ लाख रुपैयाँभन्दा कम बचत भएका ३३९ जना बचतकर्तालाई प्रतिव्यक्ति २० हजार रुपैयाँका दरले रकम फिर्ता प्रक्रिया अघि बढाइएको छ ।

यसअघि पहिलो चरणमा २० हजार रुपैयाँभन्दा कम बचत भएका ३१२ जना बचतकर्तालाई रकम भुक्तानी गरिसकिएको समितिले जनाएको छ ।

समितिका अनुसार बचतकर्ताको रकमबाटै हालसम्म २ करोड ५२ लाख ४४ हजार रुपैयाँ बराबरको ऋण मिलान गरिएको छ । समितिका अध्यक्ष भरतबहादुर थापाले आगामी दिनमा ऋण असुली कार्यलाई अझ प्रभावकारी बनाउँदै बचत फिर्ता प्रक्रियालाई थप सहज बनाइने बताए ।

समितिले हालसम्म कुल ३ करोड ५० लाख ८१ हजार रुपैयाँ बराबरको रकम बचतकर्तालाई फिर्ता गरिसकेको जनाएको छ ।

कोशी प्रदेश सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको रकम फिर्ता प्रक्रियालाई प्राथमिकतामा राख्दै कार्य अघि बढाएको भन्दै समितिले सहकारीपीडितलाई राहत दिने काममा प्रदेश अन्य क्षेत्रभन्दा अगाडि रहेको दाबी गरेको छ ।