आठ विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि विज्ञापन खुल्यो
काठमाडौं – आठ वटा विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि विज्ञापन खुलेको छ । त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यमपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयमा रिक्त उपकुलपतिको नियुक्तिका लागि विज्ञापन खुलेको हो ।
उपकुलपति छनोट तथा सिफारिस समितिले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखिएको लिंकमा गएर दरखास्त दिन अनुरोध गरेको छ । सरकारले जारी गरेको अध्यादेशमार्फत् यी विश्वविद्यालयहरुका पदाधिकारी पदमुक्त भएका थिए । त्यसैले नयाँ नियुक्ति प्रक्रिया अघि बढाइएको हो ।
रिक्त उपकुलपति पदका लागि नाम सिफारिस गर्न गठित नाम छनोट तथा सिफारिस समितिले यही वैशाख २४ गते एकीकृत कार्यविधि स्वीकृत गरेको थियो । सो कार्यविधि पनि मन्त्रालयको वेबसाइटमा राखिएको समितिले जनाएको छ ।
