बालेन सर ! जैरामेहरूका आँसु सुन्ने हिम्मत छ ?
२०४१ सालतिरको कुरा हो। कात्तिकमा मुखमै आएको धानबाली र चैतमा काट्न तयार हुँदै गरेको गहुँबाली असिनाले एकैपटक सखाप पारेपछि जैरामेले जीवनसँग हार मान्ने ठाउँ रहेन। डोकाभरि नानीबाला, काँधमा झिटीझाम्टा, मनभरि पीडा र आँखाभरि अनिश्चित भविष्य बोकेर ऊ पहाडबाट तराई झर्ने निर्णय गर्यो। गिट्टी कुटेर भए पनि, नैनीतालको बोझो बोकेर भए पनि नानीबाबुको छाक टार्नुपर्छ भन्ने अठोटले उसलाई अगाडि धकेलिरह्यो।
हुन पनि, कात्तिके र जेठे बालीले कति नै धान्थ्यो ररु बडाबढी दुई महिना। त्यसपछि फेरि गाउँका गोसाइँको हलो जोत्न जानुपर्थ्यो, भारततिर बोझा बोक्न जानुपर्थ्यो, अनि बल्ल घरमा चुल्हो बल्थ्यो। गरिबको जीवनमा श्रम मात्रै स्थायी थियो, सुख त केवल कथा जस्तै।
माघे सङ्क्रान्ति मनाएर, हिउँदको कठ्याङ्ग्रिने जाडो छिचोल्दै कालिकोटको रास्कोट्बाट सात दिन लगाएर ऊ कैलालीको लम्की आइपुग्यो। त्यतिबेला महेन्द्र राजमार्ग बनिरहेको थियो। त्यसैले गिट्टी कुट्ने काम पाउन धेरै गाह्रो भएन। दिनभरि पसिना बगाएर बेलुका नानीबाबुको अनुहारमा एकछिनको मुस्कान देख्दा उसलाई लाग्थ्यो—सायद जिन्दगी यही हो। कहिलेकाहीँ कमाइ नपुगे महाकाली पारि गएर दुईचार पैसा थपथाप गर्न पनि बाध्यता थियो।
यसरी आफ्ना इच्छा, रहर, भोक र थकान सबै दबाएर नानीबाबुको मुख हेर्दै–हेर्दै १५–१६ वर्ष बिते। देशमा माओवादी द्वन्द्व चलिरहेको थियो। त्यही अस्थिर समयभित्र आफूसरह पीडित मानिसहरूसँग मिलेर जैरामेले लम्की बसपार्क नजिकै १० कट्ठा जग्गा जोड्न सफल भयो। त्यो जग्गा उसका लागि केवल माटो थिएनस त्यो त उसको पसिनाको इतिहास थियो, उसकी श्रीमतीका अधुरा सपनाहरू थिए, उसका छोराछोरीको भविष्य थियो।
त्यसपछि उसको जीवन एउटा आशामा अडियो, “कहिले आउला लालपुर्जा ?”
नापी भयो, नाम टिपियो, कागज भरियो, आश्वासन बाँडियो। “अब पक्का आउँछ” भन्ने कुरा उसले कैयौँ पटक सुन्यो। तर वर्षौँ बित्दा पनि हातमा लालपुर्जा आएन। जैरामे मात्र होइन, लम्की वरिपरिको सिंगो बस्ती नै लालपुर्जाको बाटो हेरेर बसेको थियो।
तर अहिले फेरि अर्को खबर आएको छ—“यो सरकारी ऐलानी जग्गा हो, खाली गर, टहरा भत्काऊ।” जिल्ला प्रशासनमार्फत आएको त्यो आदेशले जैरामेको मुटु भतभती पोलिरहेको छ।
उसलाई कानूनको भाषा थाहा छैन। उसले संविधान पढेको छैन। उसलाई केवल यति थाहा छ—उसले आफ्नो जीवनको सबैभन्दा उर्जाशील समय यही माटोमा गाडेको छ। यही ठाउँमा उसका छोराछोरी हुर्किए, यही ठाउँमा उसले दुःखका रात काट्यो, यही माटोमा पसिना मिसियो। अब बुढेसकालमा आएर “यो तिम्रो होइन” भनिँदा उसको आत्मा नै काँपेको छ।
बालेन शाहको नेतृत्वमा राज्य संयन्त्रले सार्वजनिक जग्गा संरक्षण गर्न खोज्नु गलत होइन। सहर व्यवस्थित हुनुपर्छ, नदीकिनार र सार्वजनिक सम्पत्ति जोगिनुपर्छ भन्ने तर्क पनि आवश्यक छ। तर प्रश्न यत्ति हो—जैरामेहरू कहाँ जाने ?
जुन राज्यले दशकौँसम्म उनीहरूको श्रम लियो, कर लियो, मत लियो, सपना देखायो, त्यही राज्यले आज एकाएक “तिमी अवैध हौ” भनिदिँदा उनीहरूको पीडा कसले बुझ्ने ? गरिबका लागि घर केवल चारवटा पर्खाल होइन, त्यो त जीवनभरको संघर्षको प्रमाण हो। त्यो भत्किँदा केवल टहरा ढल्दैन, मानिसको आत्मविश्वास ढल्छ, इतिहास ढल्छ, भविष्य ढल्छ।
जैरामे आज राति पनि आफ्नै टहरोअगाडि बसेर सोचिरहेको छः “यो बुढेसकालमा मैले नखाई, नपिई जोडेको यो थोरै सम्पत्ति अब कसले लिने हो ?”
सायद यही प्रश्न आज देशभरका हजारौँ जैरामेहरूको मनभित्र गुञ्जिरहेको छ।
(यो कुनै आलेख मात्र होइन, जैरामे जस्ता लाखौँ नेपालीहरूको वास्तविक जीवनकथा हो, जसलाई वर्तमान राज्य संयन्त्रले गम्भीर रूपमा मनन गर्न जरुरी छ।)