विश्वविद्यालयमा उपकुलपति नियुक्ति प्रक्रिया सुरु, पीएचडी र गैरराजनीतिक पृष्ठभूमि अनिवार्य
काठमाडौं — सरकारले देशका आठ प्रमुख विश्वविद्यालयमा खुला प्रतिस्पर्धामार्फत उपकुलपति नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ । मन्त्रिपरिषद्बाट ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ स्वीकृत भएपछि रिक्त रहेका विश्वविद्यालयहरूमा आवेदन आह्वान गरिएको हो ।
‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ अनुसार त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयमा उपकुलपति पद रिक्त रहेको छ ।
कार्यविधिअनुसार उपकुलपति पदका लागि आवेदन दिने उमेदवारले मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा विद्यावारिधि उपाधि हासिल गरेको हुनुपर्नेछ । साथै, अनुसन्धान तथा प्राज्ञिक क्षेत्रमा न्यूनतम १० वर्षको अनुभव, ४० वर्ष उमेर पूरा भएको र कुनै राजनीतिक दलको सदस्य नरहेको नेपाली नागरिक हुनुपर्ने व्यवस्था गरिएको छ ।