कटहरियाका तीन बालक एकैसाथ बेपत्ता, बजार क्षेत्र त्रसित, खोजीमा जुट्यो प्रहरी

बुधबार, ३० बैशाख २०८३

काठमाडौं— रौतहटको कट हरिया नगरपालिका—५ कट हरिया बजार क्षेत्रबाट तीन जना बालक एकैसाथ बेपत्ता भएका छन् । त्रिशक्ति इङ्ग्लिस बोर्डिङ स्कुलको एकै कक्षामा अध्ययनरत विद्यार्थीहरू बेपत्ता भएपछि परिवारजन र स्थानीय बजार क्षेत्रमा त्रास फैलिएको छ ।

बेपत्ता हुनेहरूमा कट हरिया—५ का सम्सुदिन अन्सारीका १४ वर्षीय छोरा सकील अन्सारी, सुरेन्द्र साह सोनारका १४ वर्षीय छोरा कुन्दन साह सोनार र भरत दास सरभंगका १२ वर्षीय छोरा पवन कुमार दास सरभंग रहेका छन् । उनीहरू गत सोमबार (वैशाख २८ गते) देखि सम्पर्कविहीन भएका हुन् ।

परिवारका अनुसार सोमबार विद्यालयबाट फर्केपछि उनीहरू ‘बाहिर खेल्न जान्छौं’ भनी घरबाट निस्किएका थिए । साँझसम्म पनि घर नफर्किएपछि आफन्त, साथीभाइ र सम्भावित स्थानहरूमा खोजी गर्दा फेला नपरेपछि अभिभावकहरूले इलाका प्रहरी कार्यालय कटहरियामा खोजीका लागि निवेदन दिएका छन् ।

बेपत्ता बालकहरूमध्ये सकील अन्सारीसँग केही नगद रकम रहेको र उनीहरू भारतको दिल्ली जाने योजनामा थिए भन्ने कुरा साथीहरूबाट बुझिन आएको परिवारले जनाएको छ । यद्यपि, प्रहरीले यस विषयमा कुनै औपचारिक पुष्टि गरेको छैन ।

इलाका प्रहरी कार्यालय कटहरियाका सई मोहन आले मगरका अनुसार तीनै जना बालकको तस्बिर र हुलियासहितको विवरण मातहतका सुरक्षा निकायहरूमा पठाइसकिएको छ । सीमावर्ती क्षेत्र भएकाले भारतीय प्रहरीसँग पनि समन्वय गर्ने प्रक्रिया अगाडि बढाइएको छ ।

प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान गरिरहेको र यो अपहरण हो, घरबाट भागेको हो वा अन्य कुनै कारण हो भन्नेबारे तत्काल निष्कर्षमा पुग्न नसकिने जनाएको छ ।

यदि कसैले यी बालकहरूलाई कतै देखेमा नजिकको प्रहरी कार्यालय, प्रहरी कन्ट्रोल नम्बर १०० मा तुरुन्त जानकारी दिन प्रहरीले आग्रह गरेको छ ।