नेपाल टेलिकमले नौ महिनामा कमायो ६ अर्ब २७ करोड
काठमाडौं — नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८२-८३ को तेस्रो त्रैमासिक अवधिको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीको खुद मुनाफामा करिब १० प्रतिशतको वृद्धि देखिएको छ ।
चालु आवको तेस्रो त्रैमासिक विवरणअनुसार टेलिकमको खुद मुनाफा ९.८५ प्रतिशतले बढेर ६ अर्ब २७ करोड २९ लाख रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा पाँच अर्ब ७१ करोड पाँच लाख रुपैयाँ रहेको थियो ।
कम्पनीको कुल सञ्चालन आय पनि २।४२ प्रतिशतले वृद्धि भई २५ अर्ब ९२ करोड १६ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा यस्तो आय २५ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ थियो । यस्तै, कम्पनीको कुल आम्दानी २८ अर्ब ४३ करोड १५ लाखबाट बढेर २८ अर्ब ८५ करोड ४८ लाख रुपैयाँ पुगेको छ ।
मुनाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) मा पनि सुधार आएको छ । गत वर्ष ४२.३ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी अहिले ९.९ प्रतिशतले बढेर ४६.४७ रुपैयाँ कायम भएको छ ।
कम्पनीको वित्तीय अवस्थामा आएको यो परिवर्तनमा केही प्रमुख कारकहरूले भूमिका खेलेको कम्पनीले जनाएको छ । जसअनुसार कम्पनीको जीएसएमतर्फको राजस्वमा २.७६ प्रतिशत (५७ करोड ७४ लाख रुपैयाँ)ले वृद्धि भएकाले हो ।
“बजारमा निरन्तर घट्दै गएको ब्याजदरका कारण कम्पनीको ब्याज आयमा २०.५७ प्रतिशत (करिब ५७ करोड ६६ लाख रुपैयाँ) को कमी आएको छ । कम्पनीको ह्रासकट्टी खर्च गत वर्षको तुलनामा ८.४६ प्रतिशत अर्थात् ३८ करोड ६९ लाख रुपैयाँले घटेको छ, जसले मुनाफा बढाउन सहयोग पुर्याएको हो,” कम्पनीले वित्तीय विवरणमा उल्लेख छ ।
यस्तै, कम्पनीको कर, ब्याज र ह्रासकट्टीअघिको मुनाफा १.३२ प्रतिशतले बढेर १४ अर्ब ३८ करोड दुई लाख रुपैयाँ पुगेको छ । समग्रमा, नेपाल टेलिकमले आफ्नो सञ्चालन आम्दानी र खर्च व्यवस्थापनमा सुधार गर्दै नाफामा वृद्धि गर्न सफल भएको प्रतिवेदनमा देखिन्छ ।