प्रधानाध्यापक रैदास भ्रष्टाचारी ठहर, ६ महिना कैद सजाय
काठमाडौं — कपिलवस्तुको तौलिहवास्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
शुक्रबार (जेठ १) विशेष अदालतका सदस्यहरू न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले रैदास दोषी ठहर हुने फैसला गरेको हो ।
विद्यार्थीका निम्ति उपलब्ध गराइएको दिवा खाजा, पाठ्यपुस्तक, छात्रवृत्ति र शिक्षकको सामाजिक सुरक्षा कर समेतका शीर्षकको चार लाख ४३ हजार ४३० रुपैयाँ ७५ पैसा हिनामिना गरेको उनीमाथि आरोप थियो ।
०८२ मंसिर १ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानाध्यापक रैदाससँगै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूलाई पनि प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अध्यक्ष थारूलाई भने विशेषले सफाइ दिएको छ ।
रैदासबाट भ्रष्टाचार भएको चार लाख ४३ हजार ४३० रुपैयाँ ७५ पैसा असुलउपर गरी त्यति नै जरिवाना हुने फैसला भएको छ । साथै, उनलाई ६ महिना कैद सजाय हुने विशेषको फैसला छ । अपराधपीडित संरक्षण कोषमा १७ हजार ७३७ रुपैयाँ २३ पैसा दाखिला गर्नुपर्ने ठहर पनि अदालतले गरेको छ ।