शैक्षिक कन्सल्टेन्सी क्षेत्रमा प्रहरीको बिग अप्रेसन, ६९ जना पक्राउ
काठमाडौं – शैक्षिक परामर्श क्षेत्रमा प्रहरीले बिग अप्रेसन संचालन गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले कन्सल्टेन्सीमा छापा मार्दै ६९ जना कन्सल्टेन्सी संचालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दर्ता तथा नविकरण नगरी सेवा संचालन गर्ने शैक्षिक कन्सल्टेन्सीका संचालकहरु रहेका छन् ।
कार्यालयको टोलीले शुक्रबार काठमाडौं, ललितपुर, भक्तपुरमा कानुन विपरित संचालित ९५ शैक्षिक कन्सल्टेन्सीमा छापा मारेको थियो । छापा मारेका मध्य ६९ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरिक्षक रामेश्वर कार्कीले बताएका छन् ।
‘काठमाण्डौ उपत्यका स्थित बिभिन्न स्थानमा संचालनमा रहेका शैक्षिक परामर्ष केन्द्रहरुले उच्च शिक्षाको लागि बिदेश पठादिन्छु भनि नेपाली नागरीकहरुलाई ठगी गर्ने गरेको भन्ने उजुरी, गुनासो र निवेदन यस कार्यालयमा प्राप्त भएको हुँदा शिक्षा ऐन, २०२८, शिक्षा नियमावली २०५९ र शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण निर्देशिका, २०७३ मा उल्लेखित शैक्षिक परामर्श केन्द्रहरुले पालना गर्नु पर्ने मापदण्ड र प्रकृया पुरा नगरी, दर्ता नविकरण नगरी, बिना इजाजत शैक्षिक परामर्श सेवा, पुर्व तयारी कक्षा, भाषा शिक्षण सम्बन्धि सेवा प्रदान गर्दै आएका ९५ वटा शैक्षिक परामर्श केन्द्रमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८३ जेठ १ गते ६९ जना शैक्षिक परामर्ष केन्द्रका संचालकहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको छ ।’ कार्कीद्वारा जारी सूचनामा भनिएको छ ।
प्रहरीले यस्ता शैक्षिक परामर्श केन्द्रबाट ठगीएको भए सम्पर्क गर्न अनुरोधसमेत गरेको छ । ‘…यस्ता शैक्षिक परामर्ष केन्द्रहरुद्धारा ठगीमा पर्नु भएका नेपाली नागरीकहरुले यथासिग्र यस कार्यालयमा सम्पर्क राख्न हुनको लागि यो सुचना जारी गरीएको छ ।’ कार्कीद्वारा जारी सूचनामा भनिएको छ ।
देशभर १० हजार बढी शैक्षिक परामर्श केन्द्रहरुले शैक्षिक परामर्श सेवा, भाषा शिक्षण तथा पूर्वतयारी कक्षा संचालन गरिरहेका छन् । यी मध्य संघ र प्रदेशमा गरेर बढीमा १ हजार शैक्षिक कन्सल्टेन्सीले मात्र दर्ता तथा नियमित नविकरण गरिरहेका छन् । निर्देशिका बमोजिम दर्ता र नविकरण नभएका शैक्षिक कन्सल्टेन्सीले विद्यार्थी तथा अभिभावकलाई विभिन्न प्रलोभन देखाई ठगी गर्ने, शैक्षिक परामर्श भन्दा मेनपावरको काम धेरै गर्ने गरिरहेका छन् ।
