पक्राउ परेका कन्सल्टेन्सी संचालकविरुद्ध उजुरी गर्न प्रहरीको अपिल (कन्सल्टेन्सीहरुको लिस्टसहित)
काठमाडौं – नेपाल प्रहरीले शुक्रबार पक्राउ परेका शैक्षिक कन्सल्टेन्सीका संचालकविरुद्ध उजुरी दिन अनुरोध गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जेठ १ गते शुक्रबार पक्राउ परेका ६९ जना शैक्षिक कन्सल्टेन्सीका संचालकविरुद्ध उजुरी गर्न पीडितलाई अनुरोध गरेको हो ।
कार्यालयको टोलीले शुक्रबार काठमाडौं, ललितपुर, भक्तपुरमा कानुन विपरित संचालित ९५ शैक्षिक कन्सल्टेन्सीमा छापा मारेको थियो । छापा मारेका मध्य ६९ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष खड्काले बताएका छन् ।
उच्च शिक्षाको लागि बिदेश पठादिन्छु भनि नेपाली नागरीकहरुलाई ठगी गर्ने गरेको भन्ने उजुरी, गुनासो र निवेदन प्राप्त भएपछि प्रहरीले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण निर्देशिका, २०७३ मा उल्लेखित शैक्षिक परामर्श केन्द्रहरुले पालना गर्नु पर्ने मापदण्ड र प्रकृया पुरा नगरी, दर्ता नविकरण नगरी, बिना इजाजत शैक्षिक परामर्श सेवा, पुर्व तयारी कक्षा, भाषा शिक्षण सम्बन्धि सेवा प्रदान गर्दै आएका ९५ वटा शैक्षिक कन्सल्टेन्सीमा छापा मारेको थियो ।
प्रहरीले यस्ता शैक्षिक परामर्श केन्द्रबाट ठगीएको भए सम्पर्क गर्न पीडितहरुलाई अनुरोध गरेको हो । देशभर १० हजार बढी शैक्षिक परामर्श केन्द्रहरुले शैक्षिक परामर्श सेवा, भाषा शिक्षण तथा पूर्वतयारी कक्षा संचालन गरिरहेका छन् । यी मध्य संघ र प्रदेशमा गरेर बढीमा १ हजार शैक्षिक कन्सल्टेन्सीले मात्र दर्ता तथा नियमित नविकरण गरिरहेका छन् ।
नोट : यसअघिको लिस्टमा केही छुटेको र केही दोहोरिएकाले सच्याएर पुनः प्रकाशन गरिएको छ ।-सम्पादक