शैक्षिक कन्सल्टेन्सीको ठगीबाट जोगिन काठमाडौंमा विद्यार्थीको भेला
काठमाडौं – शैक्षिक कन्सल्टेन्सीको ठगीबाट जोगिन विद्यार्थीहरुले काठमाडौंमा छलफल गरेका छन् । आइतबार ललितपुरको बालकुमारीस्थित काठमाडौं विश्वविद्यालय, स्कुल अफ म्यानेजमेन्टमा भेला भएर विद्यार्थीले शैक्षिक कन्सल्टेन्सीको ठगीबारे छलफल गरेका हुन् ।
विशेषता दक्षिण कोरिया अध्ययनका लागि तयारी गरिरहेका, भिसा लागे का र भिसा अस्वीकृत भएका विद्यार्थीहरुले आफूहरु ठगीने सम्भावित् अवस्था बारे जिज्ञासा राखेका थिए । दक्षिण कोरियामा अध्ययनरत विद्यार्थी भोजराज भट्टको नेतृत्वमा भएको भेलामा सहभागी विद्यार्थीले आफूहरु ठगीएको बारेमा खुलेर छलफल गरेका थिए ।
छलफलमा सहभागी विद्यार्थीले कोडभिसाका नाममा कन्सल्टेन्सीले थप २ हजार अमेरिकी डलर मागेको, डकुमेन्टेशन चार्ज भन्दै २० देखि ५० हजार रुपैयाँ उठाएको, आफ्नो सक्कली डकुमेन्ट होल्ड गरेको र फिर्ता माग्दा पैसा माग्ने गरेको, लामो समयसम्म भिसा डिसिजन नदिएर विश्वविद्यालयले अल्झ्याएको लगायत गुनासो गरेका थिए । उनीहरु मध्ये केही विद्यार्थीले शैक्षिक कन्सल्टेन्सीको नामै लिएर ठगी गरेको आरोप लगाएका थिए ।
केही विद्यार्थीले कन्सल्टेन्सीले बनाएको नक्कली डकुमेन्टका कारण आफ्नो भिसा रिजेक्सन भएको, प्रहरीले छापा हानेपछि धेरै कन्सल्टेन्सीले आफ्नो कार्यालय बन्द गरेको र घरबाटै काम हुने बताएको भन्दै यस्ता कन्सल्टेन्सीलाई कारवाही गराउन के गर्ने ? भन्दै प्रश्न गरेका थिए । विगत १० वर्षदेखि विद्यार्थीलाई भिसामा सहजिकरण गरिरहेका शंकर चन्द्रले विद्यार्थीको जिज्ञासा मेटाउने प्रयास गरेका थिए । साथै, भेलाको नेतृत्वकर्ता भट्टले विद्यार्थीलाई ठगीबाट जोगिन सल्लाह दिएका थिए ।
‘मलाई पनि मेरो कन्सल्टेन्सीले बुसानमा बसेर सियोलमा काम गर्न सकिन्छ भन्दै काउन्सिलिङ गरेको थियो । मैले कन्सल्टेन्सीलाई विश्वास गरेँ । गल्ति मेरै थियो ।’, विद्यार्थीलाई सुझाव दिदै भट्टले भनेका थिए, ‘कन्सल्टेन्सीले भन्ने वित्तिकै मैले रिसर्च गर्नुपथ्र्यो । बुसान र सियालको दूरी पाँच घण्टा बढीको छ, ७ हजार बढी भाडा लाग्ने रहेछ । आफू ठगीएको कोरिया पुगेपछि थाहा पाँए ।’

उनले कोरियाको तयारी गरिरहेका विद्यार्थीलाई कन्सल्टेन्सीले भनेको सबै कुरा नपत्याउन, रिसर्च गर्न र भेरिफाई गर्न अनुरोध गरेका थिए । ‘नेपालबाट गएको विद्यार्थीले ६ महिना काम गर्न पाइदैन, ६ महिना तपाईं आफ्नो भाषालाई तिखार्नुहोस् । ६ महिनापछि वर्कपरिमिट लिएर मात्र काममा लाग्नुहोला ।’, भट्टले भनेका थिए, ‘कन्सल्टेन्सीले त कमिसनका लागि जे पनि भन्छन् । जाने वित्तिकै काममा पनि लगाउलान तर तपाईंलाई प्रहरीले समात्यो भने निकै ठूलो समस्यामा पर्नुहुनेछ ।’
भट्टले आफू ठगिएको महसुस भएको खण्डमा शैक्षिक परामर्श व्यवसायीको छाता संगठन वा नजिकको प्रहरी कार्यालयमा उजुरी गर्न अनुरोध गरेका थिए । ‘तपाईंलाई आफू ठगीएको जस्तो लाग्यो भने व्यवसायी संगठनहरु इक्यान, केक्यान लगायत संस्थामा गएर उजुरी गर्नुहोस् । त्यहाँबाट भएन भने प्रहरीमा पनि उजुरी गर्न सक्नुहुन्छ ।’, उनले भने, ‘आफ्नो लागि तपाईंहरु आफै लड्नुहोस् ।’
छलफलमा सहभागी विद्यार्थीहरुले कन्सल्टेन्सीहरुको ठगीविरुद्ध सडक आन्दोलन गर्नसमेत आफूहरु तयार रहेको बताएका थिए । भेलामा ५ सय बढी विद्यार्थीहरुको सभागिता रहेको थियो ।