शैक्षिक परामर्श क्षेत्रलाई बदनाम नगर्न नेकाको आग्रह

मंगलबार, ५ जेष्ठ २०८३

काठमाडौँ – शैक्षिक परामर्श क्षेत्रलाई बदनाम नगर्न राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) ले आग्रह गरेको छ । अनुसन्धान तथा सोधपुछकै प्रारम्भिक चरणमा रहेका घटनाका आधारमा सम्पूर्ण शैक्षिक परामर्श क्षेत्रलाई एउटै दृष्टिकोणबाट हेर्ने, संस्थाहरूलाई सामूहिक रूपमा शंकाको घेरामा राख्ने वा अपराधीकरण गर्ने प्रवृत्तिप्रति आपत्ति जनाउँदै यसो नगर्न आग्रह गरेको हो ।

शैक्षिक परामर्श संस्थाहरूमाथि भइरहेको अनुगमन, अनुसन्धान तथा नियमन प्रक्रियालाई सकारात्मक रूपमा लिदै नेकाले विद्यार्थी तथा अभिभावकको हित संरक्षण, सेवा प्रवाहमा पारदर्शिता कायम गर्ने तथा शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित र विश्वसनीय बनाउने उद्देश्यले गरिने कानुनी तथा नीतिगत पहलमा आफूहरू सधैँ सहयोगी रहने स्पष्ट पारेको छ।

सोमबार प्रेस विज्ञप्ति जारी गर्दै नेकाले शिक्षा क्षेत्रको नाममा हुने ठगी, भ्रामक आश्वासन, नक्कली कागजातको प्रयोग, अवैध आर्थिक कारोबार तथा मानव तस्करीसँग सम्बन्धित गतिविधिलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने स्पष्ट पारेको छ । अध्यक्ष भूपेन्द्र सिटौलाद्वारा जारी विज्ञप्तिमा गलत गतिविधिमा संलग्न व्यक्ति वा संस्थामाथि निष्पक्ष, पारदर्शी र प्रभावकारी कारबाही हुनुपर्नेमा संघ सहमत रहेको उल्लेख छ ।

कुनै पनि अनुसन्धान व्यक्तिगत जिम्मेवारीको सिद्धान्तमा आधारित हुनुपर्ने र सम्पूर्ण व्यवसायलाई सामूहिक रूपमा बदनाम गर्ने शैली उचित नभएको नेकाको ठम्याई छ ।

जेठ १ गते शिक्षा तथा खेलकुद मन्त्रालयको सम्वन्वयमा गृहमन्त्रालय अन्तरगतको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उपत्यकाका ९५ शैक्षिक कन्सल्टेन्सीमा छापा मारेको थियो । छापा हान्दा ९५ मध्ये ६९ जनालाई पक्राउ गरिएको थियो । पक्राउ परेका मध्य केही छुटिसकेका छन् ।