यी हुन् प्रहरीले मुद्धा चलाएका ३१ कन्सल्टेन्सीका ३३ संचालक
काठमाडौं – प्रहरीको विग अप्रेसनबाट पक्राउ परेका ६९ मध्य ३१ शैक्षिक कन्सल्टेन्सीका ३३ संचालकविरुद्ध मुद्धा चलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले लिखतसम्बन्धी कसुर, ठगी र शिक्षा ऐन, २०२८ अनुसार ३१ कन्सल्टेन्सीका ३३ जना संचालकविरुद्ध मुद्दा चलाएको हो ।
गत शुक्रबार कार्यालयले गैरकानुनी रुपमा संचालित र ठगी कार्यमा संलग्न रहेको आरोपमा ९५ वटा कन्सल्टेन्सीमा छापा मारेको थियो । छापा मारेका ९५ कन्सल्टेन्सी मध्य ६९ कन्सल्टेन्सीका सञ्चालकलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको थियो ।
उनीहरुमध्ये ३७ शैक्षिक कन्सल्टेन्सी दर्ता रहेको, रसिद लिएको र दर्ता प्रक्रियामा रहेको पाइएपछि अनुसन्धान गर्ने गरेर हाजिरी जमानीमा छाडिएको कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले बताएका छन् । उनका अनुसार कन्सल्टेन्सी दर्ता नभएका, ठगी र सरकारी छाप किर्ते गरेर चलाएकाहरू कारबाहीमा परेका हुन्।
ठगी कसुरमा बानेश्वरको सावित्री एबरोड एजुकेशन प्रालिका सञ्चालक रुपाली पटेललाई मुद्दा चलाइएको छ भने अक्सफोर्ड स्मार्ट एजुकेशन प्रालिका सञ्चालक आशिक श्रेष्ठ र नविन श्रेष्ठविरुद्ध लिखत सम्बन्धी कसुरमा मुद्दा चलाइएको छ । बाँकी सबैलाई शिक्षा ऐन अनुसार मुद्धा चलाई ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ ।
