पूर्णबहादुरको अन्तिम निर्णय के होला ? कांग्रेसभित्र बढ्दो तरंग
काठमाडौं – नेपाली राजनीतिमा केही नेताहरू यस्ता हुन्छन् जसको भूमिका केवल पद वा सत्ता भन्दा माथि संस्थागत निष्ठा, संगठन निर्माण र दीर्घ राजनीतिक अनुभवसँग जोडिएको हुन्छ। पुर्णबहादुर खड्का त्यस्ता नेतामध्ये एक हुन्, जसलाई नेपाली कांग्रेसभित्र सधैं संयमित, सन्तुलित र संगठनप्रति निष्ठावान व्यक्तित्वका रूपमा हेरिन्छ। उहाँको राजनीतिक यात्रा व्यक्तिगत महत्वाकांक्षाभन्दा पार्टीलाई प्राथमिकता दिने शैलीमा आधारित देखिन्छ, जसले उहाँलाई कार्यकर्ता र नेताहरूबीच एक प्रकारको भरोसाको प्रतीक बनाएको छ। त्यसैले सामाजिक सञ्जालमा देखिने उहाँलाई लिएर गरिएको अतिरञ्जित चर्चाहरू, जस्तै पार्टी फुटाउने वा विद्रोही बाटो लिने, उहाँको स्थापित राजनीतिक चरित्रसँग सजिलै मेल खाने देखिँदैन।
पछिल्लो समय विशेष महाधिवेशनपछिका शक्ति–सन्तुलन, गुटीय गतिविधि र नेतृत्व संरचनाभित्र देखिएका परिवर्तनहरूले उहाँ असन्तुष्ट हुन सक्ने अनुमान गर्न सकिन्छ। नेपाली कांग्रेसको इतिहासमा यस्तो अवस्था नयाँ होइन, जहाँ योगदान दिएका नेताहरूले अन्ततः आफूलाई उपेक्षित वा किनारामा परेको महसुस गरेका उदाहरणहरू छन्। यो केवल व्यक्तिगत अनुभव मात्र नभई पार्टी संरचनाभित्रको निरन्तर देखिने राजनीतिक प्रक्रिया पनि हो।
नेपाली कांग्रेसको इतिहासमा गणेशमान सिंह र कृष्ण प्रसाद भट्टराई जस्ता नेताहरूले पनि आफ्नो योगदानका बाबजुद आन्तरिक असन्तोष, उपेक्षा र एक्लोपनको अनुभव गरेका थिए। यसले देखाउँछ कि कांग्रेसभित्र योगदान र तत्कालीन शक्ति–समीकरणबीच कहिलेकाहीँ असन्तुलन देखिने परम्परा रहिआएको छ। त्यसैले पूर्णबहादुर खड्काको वर्तमान परिस्थितिलाई पनि यही ऐतिहासिक सन्दर्भमा बुझ्न सकिन्छ।
तर असन्तुष्टि हुनु र पार्टी छोड्ने वा विभाजन गर्ने निर्णय लिनु फरक कुरा हो। अहिलेको राजनीतिक वातावरणमा केही व्यक्तिहरूको निहित स्वार्थ र दुरासयपूर्ण मनस्थितिका कारण पार्टी फुटाउने वा अस्थिरता सिर्जना गर्ने प्रयास हुन सक्छ भन्ने चर्चा पनि सुनिन्छ। तर पूर्णबहादुर खड्का जस्तो परिपक्व, सन्तुलित र संस्थागत सोच भएका नेताहरू यस्तो लहड वा स्वार्थकेन्द्रित चलखेलमा फस्ने सम्भावना अत्यन्त कमजोर देखिन्छ। उहाँले कुनै पनि अपूर्ण, हतारो वा भावनात्मक निर्णय गर्ने होइन, बरु दीर्घदृष्टि राखेर जिम्मेवार निर्णय गर्ने राजनीतिक चरित्र प्रदर्शन गर्दै आउनुभएको छ।
यसको संकेत उहाँले आफ्नै गृहनगर सुर्खेतमा आयोजित देउवा पक्षीय भेलामा दिएको सार्वजनिक अभिव्यक्तिबाट पनि देखिन्छ। उक्त भेलामा उहाँले आफू पार्टी फुटाउने पक्षमा नरहेको स्पष्ट उद्घोष गर्नुभएको थियो। यस्तो सार्वजनिक अभिव्यक्तिले पनि उहाँको सोच तत्कालीन आवेग वा असन्तुष्टिभन्दा माथि संस्थागत स्थायित्व र पार्टी एकतातर्फ केन्द्रित रहेको देखाउँछ। यदि उहाँ साँच्चिकै विद्रोह वा विभाजनको दिशामा गइरहनुभएको भए यस्ता स्पष्ट अभिव्यक्तिहरू आउने सम्भावना कम हुन्थ्यो।
नेपाली कांग्रेस छोडेर नयाँ राजनीतिक शक्ति निर्माण गर्ने विकल्प पनि नेपालको वर्तमान राजनीतिक संरचनामा त्यति सहज छैन। नयाँ दल गठन वा विभाजन गरेर दीर्घकालीन सफलता प्राप्त गर्ने उदाहरणहरू अत्यन्त सीमित छन्। यस्तो परिस्थितिमा अनुभवी नेताहरूले पार्टीभित्रै बसेर प्रभाव कायम राख्नु बढी व्यवहारिक विकल्प रोज्ने गर्छन्। नेपाली कांग्रेस केवल एउटा राजनीतिक दल मात्र नभई नेपालको लोकतान्त्रिक आन्दोलनसँग गहिरो रूपमा जोडिएको ऐतिहासिक संस्था हो। पूर्णबहादुर खड्का जस्ता नेताहरूले आफूलाई यही संस्थागत विरासतसँग जोडेर हेर्ने भएकाले व्यक्तिगत असन्तुष्टिले मात्र सम्बन्ध विच्छेद गर्ने सम्भावना कम हुन्छ। उहाँको राजनीतिक पहिचान नै कांग्रेससँग गहिरो रूपमा गाँसिएको छ।
इतिहासले पनि यस्तै संकेत दिन्छ। कांग्रेसभित्र असन्तुष्टि भएर बाहिरिएका वा किनारामा पुगेका नेताहरूले अन्ततः वैकल्पिक शक्ति निर्माण गर्न नसकेको उदाहरणहरू छन्। यस्तो अनुभवले वर्तमान नेताहरूलाई पार्टीभित्रै बसेर परिवर्तनको प्रयास गर्न प्रेरित गर्छ। पूर्णबहादुर खड्काले पनि यो राजनीतिक यथार्थ बुझ्ने नेताका रूपमा देखिन्छन्, जसले तत्कालीन असन्तुष्टिलाई दीर्घकालीन निर्णयमा रूपान्तरण नगर्ने सम्भावना बढाउँछ।
उहाँको अर्को महत्वपूर्ण पक्ष भनेको राजनीतिक छवि हो। उहाँलाई धेरैले “सालिन, सादगीपूर्ण र जिम्मेवार कांग्रेस नेता” का रूपमा चिन्छन्। यदि उहाँले अन्तिम समयमा आक्रामक विद्रोह वा पार्टी फुटाउने कदम चाल्नुभयो भने दशकौँमा बनेको उहाँको नैतिक र राजनीतिक छवि कमजोर हुन सक्छ। त्यसैले कहिलेकाहीँ राजनीतिमा मौनता वा दूरी पनि एक प्रकारको रणनीतिक सन्तुलन बन्न पुग्छ।
पछिल्लो समय सामाजिक सञ्जालमा फैलिने भ्रमपूर्ण प्रचारहरूले उहाँको नामलाई विभिन्न अनिश्चित दाबीहरूसँग जोड्ने प्रयास गरिरहेका छन्। तर यस्ता हल्लाहरू प्रायः राजनीतिक यथार्थभन्दा बढी भावनात्मक अड्कलबाजीमा आधारित हुन्छन्। वास्तविक राजनीतिक चरित्र, विगतको व्यवहार र सार्वजनिक अभिव्यक्तिलाई आधार बनाएर हेर्दा उहाँ अझै पनि पार्टी एकता, संवाद र संगठनात्मक स्थायित्वको पक्षमा देखिनुहुन्छ।
अन्ततः पूर्णबहादुर खड्काको वर्तमान अवस्थालाई पूर्ण विद्रोह वा पार्टी छोड्ने संकेतका रूपमा होइन, बरु “संयमित असन्तुष्टि” र “मौन राजनीतिक दूरी” का रूपमा बुझ्नु बढी यथार्थपरक हुन्छ। उहाँजस्ता नेताहरू तत्कालीन असन्तोषका बाबजुद पनि आफ्नै योगदानले बनेको संस्थागत संरचनालाई प्रत्यक्ष क्षति पुर्याउने निर्णय गर्न हतारिने सम्भावना कम देखिन्छ।