पक्राउ परेका कन्सल्टेन्सी संचालक थप ५ दिन हिरातमै रहने
काठमाडौं – अवैध रुपमा शैक्षिक कन्सल्टेन्सी संचालन गरेको अभियोगमा पक्राउ परेका ३१ कन्सल्टेन्सीका सञ्चालकविरुद्ध पुनः म्याद थप भएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले लिखतसम्बन्धी, ठगी कसुर र शिक्षा ऐन विपरित कार्य गरेको कसुरमा अनुसन्धान नसकिएको भन्दै भ्याद थप गरेको हो ।
काठमाडौंमा सञ्चालित कन्सल्टेन्सी सञ्चालकविरुद्ध ५ दिन र भक्तपुरमा रहेकालाई ३ दिनको म्याद थप गरिएको कार्यालयका प्रमुख सन्तोष खड्काले बताएका छन् । जेठ १ गते कार्यालयले गैरकानुनी कार्यमा संलग्न रहेको आरोपमा ९५ वटा कन्सल्टेन्सीमा छापा मारी ६९ जना सञ्चालकलाई पक्राउ गरेको थियो ।
अनुमतिबिना चलाएका कन्सल्टेन्सीलाई मुद्धा चलाएर प्रहरीले बाँकीलाई कार्यालयमा उपस्थित हुनेगरी छोडेको थियो । यसअघि उनीहरु सबैलाई ५ दिन म्याद थप भएको थियो ।