निर्मला हत्याकाण्डको एक वर्ष पुरा, उपलब्धि शून्य ?
काठमाडौं – राजधानीबाट प्रकाशित शुक्रबारका राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् ।
नयाँ पत्रिका र नागरिक दैनिकले निर्मलाहत्या काण्डको एक वर्ष हुँदा पनि न्याय नमिलेको विषयलाई मुख्य समाचार बनाएका छन् ।
कञ्चनपुरको भीमदत्त–२ उल्टाखामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष बितिसकेको छ । यसबीचमा सात अनुसन्धान टोली गठन, ८० जनाको डिएनए परीक्षण, पाँच सयभन्दा बढीलाई सोधपुछ र १० हजारभन्दा बढीको कल डिटेल अध्ययन भए पनि दोषी भने पत्ता लागेको छैन ।
गृहमन्त्री रामबहादुर थापा बादलले मंगलबार निर्मला पन्त प्रकरणमा सरकार असफल भएको स्वीकार गरे । विकसित देशमा समेत सबै घटनाका दोषी पत्ता नलागेको र यो घटनालाई धेरै राजनीतीकरण गरिएको आरोप उनले लगाए ।
तर, यो प्रकरणमा कहाँ–कहाँ कमजोरी भयो भनेर पत्ता लगाउने कामसमेत हुन सकेको छैन । छानबिनका क्रममा घटनास्थलदेखि ल्याबसम्म कमजोरी भएको विवरण आइसकेका छन् । अभियुक्त त पत्ता लागेनन् नै यो घटनाबाट सिकेर अझै सुधारको प्रयास भएको छैन ।
निर्मला हत्याको एक वर्षसम्म आफूले सरकारसँग न्याय मागेको उनका बुबा यज्ञराज बताउँछन्।
‘मैले सुरुदेखि नै सरकारसँग अरु केही मागिनँ, मात्र न्याय मागें,’ उनले भने, ‘हत्याको एक वर्ष बितिसक्दा पनि न्याय नै पाइएन।’ अपराधी पत्ता लागेर छोरीको कसरी हत्या भयो भन्ने थाहा पाएको भए सन्तुष्टि हुने उनी बताउँछन्। नागरिक र नयाँ पत्रिकाले खवर लेखेका छन् ।