टीओबीले प्रदर्शन कब्जा गरी विद्यार्थीलाई ढाल बनाएर संसद्मा आक्रमण गर्यो : आयोग
काठमाडौं — राष्ट्रिय मानव अधिकार आयोगले गत वर्ष भदौ २३ गतेको जेनजी प्रदर्शनलाई तिब्बतीयन ओरिन ब्लड (टीओबी) ले कब्जा गरी संसद् भवनमा आक्रमण गरेको स्पष्ट भएको जनाएको छ ।
०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएका मानव अधिकार हननका घटना छानबिनपछि आयोगले तयार पारेको प्रतिवेदनमा सो कुरा उल्लेख छ ।
“शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरू किन कसरी हिंसात्मक हुन पुगे भनी विश्लेषण गर्दा उक्त स्थानमा टीओबी लेखिएका कालो टिसर्ट लगाएका र हात तथा शरीरमा टीओबी लेखिएको ट्याटु खोपेका १५-२० जनाको बाइकर ग्रुपको प्रवेशपश्चात माथि प्रकरण नं ३ मा उल्लेख गरिएअनुसार विध्वंशात्मक कार्य गर्ने गराउने समूहले नवयुवा (जेनजी) को शान्तिपूर्ण विरोध प्रदर्शनलाई कब्जा गरी नवयुवा (जेनजी) विद्यार्थीलाई ढाल बनाइ सुरक्षाकर्मीहरूमाथि नै ढुंगामुढा गर्दै संसद् भवनमा आक्रमण गरी आगजनी गर्ने प्रयाससमेत गरी धनजनको क्षति पुर्याएको स्पष्ट हुन आयो,” प्रतिवेदनमा आयोगले भनेको छ ।
एभरेष्ट होटलअगाडि अन्दाजी २०-२५ हजार भीड जम्मा भइसकेपछि करिब १२ बजेको समयतिर हामी नेपाल संस्थाका सुधन गुरूङले भिडको नेतृत्व गरेको प्रतिवेदनमा उल्लेख छ ।
गुरुङले नेतृत्व लिएपश्चात प्रदर्शनकारीहरू आक्रोशित भई सुरक्षा ब्यारिकेड तोडी निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि सुरक्षाकर्मीसँग मुठभेड, झडप भइ हुलदंगामा परिणत भएको आयोगको ठहर छ ।
तत्पश्चात मात्रै सुरक्षाकर्मीबाट अश्रु ग्याँस र पानीको फोहोरा प्रयोग भएको र अश्रु ग्याँसका कारण आक्रोशित भिडले बीआईसीसी १ नं। गेटअगाडि ढुंगामुढा सुरु गरी एपीएफ वाटर क्यानन तोडफोड गरी वाटर क्याननको छतमा चढेको देखिएको प्रतिवेदनमा जनाइएको छ ।
यसै अवस्थामा सुरक्षा निकायलगायत जेनजी अगुवाहरूले समेत आक्रोशित भिडलाई सम्झाई बुझाई गरी फर्कन र अवाञ्छित गतिविधि रोक्न आग्रह गरेको आयोगले जनाएको छ । करिब मध्याह्नतिर प्रमुख जिल्ला अधिकारीले बल प्रयोग गर्ने आदेश दिएको र कर्फ्यू आदेश जारी गरेको पनि प्रतिवेदनमा उल्लेख छ ।
“यसरी शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरूलाई योजनाबद्ध तवरवाट उक्साई, आक्रोशित बनाई सुरक्षाकर्मी र संसद् भवनमाथि आक्रमण गर्ने टीओबी लेखिएका कालो टिसर्ट लगाएका र हात तथा शरीरमा टीओबी लेखिएको ट्याटु खोपेका १५-२० जनाको बाइकर ग्रुपका व्यक्तिहरूको पहिचान, निजहरूको आयोजकहरूसँग के कस्तो सम्बन्ध रहेको छ ? यिनीहरू कसैबाट सञ्चालित हुन् कि होइनन् ? भन्ने विषय अनुसन्धान प्रतिवेदनवाट नदेखिएको हुँदा उल्लेखित प्रदर्शनकारीहरूलाई उक्साउने भड्काउनेमा स्पष्ट रूपमा संलग्न देखिएको टीओबी लेखिएको कालो टिसर्ट लगाएका र हात तथा शरीरमा टीओबी लेखिएको ट्याटु खोपेका १५-२० जनाको बाइकर ग्रुपको वास्तविक अवस्था बारेमा थप अनुसान्धान गरी निष्कर्षमा पुग्नुपर्ने देखिन्छ,” प्रतिवेदनमा भनिएको छ ।