सीमाबारे प्रधानमन्त्री बालेनलाई भारतको जवाफ– द्विपक्षीय मामिलामा तेस्रो पक्षको कुनै भूमिका हुँदैन

मंगलबार, १९ जेष्ठ २०८३

प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल–भारत सीमा समस्याबारे उनकै शब्दमा इंग्ल्यान्डसँग पनि कुरा गर्नु पर्ने बताएको बारे भारतले प्रतिक्रिया दिएको छ ।

प्रधानमन्त्री शाहले आइतबार व्यक्त गरेको अभिव्यक्तिमा मंगलबार जवाफ फर्काउँदै भारतले द्विपक्षीय मामिलामा तेस्रो पक्षको कुनै भूमिका नहुने बताएको हो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नियमित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । पत्रकारहरूले नेपालका प्रधानमन्त्रीले सीमाबारे चीन र बेलायतसँग कुरा गरिरहेको बताएको विषयमा भारतको प्रतिक्रिया मागेका थिए ।

जवाफमा जैसवालले भने, भारत–नेपाल सीमाको सम्बन्धमा नेपालका प्रधानमन्त्री र परराष्ट्र मन्त्रालयको जुन अभिव्यक्ति आएको छ, त्यसलाई हामीले सुनेका छौँ । भारत–नेपाल सीमाको लगभग ९८ प्रतिशत निर्धारित भइसकेको छ । केही हिस्सामा समस्या छ, गण्डक नदीको बहावमा परिवर्तन भएको कारण यो स्थिति उत्पन्न भएको छ ।

‘यसका अलावा सीमाको निर्धारित हिस्सामा सीमापार कब्जा र नो म्यान्स ल्यान्डमा अतिक्रमणका मामिला पनि छन् । जसको संयुक्त रूपले सीमांकन गरिँदै छ । सीमासम्बन्धी सबै मामिला समाधान गर्न दुईपक्षीय संयन्त्र स्थापित गरेका छौँ । सबै पक्षलाई यो स्पष्ट हुन जरुरी छ, भारत र नेपालको बीचमा जेजति द्विपक्षीय मामिला छन्, त्यसमा कुनै पनि तेस्रो पक्षको भूमिका छैन, उनले थपे ।