राष्ट्रपति कार्यालयबाट हात्तीका दाह्रा चोरियो

बुधबार, २० जेष्ठ २०८३

काठमाडौं – राष्ट्रपति कार्यालय शीतल निवासको भित्तामा सजाएर राखिएका हात्तीका दुई थान दाह्रा चोरी भएको खुलेको छ । यसको अनुसन्धानका लागि प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको छ ।

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा नेपाली सेनाको २४ सै घण्टा सुरक्षामा रहने राष्ट्रपति कार्यालय समेत निशानामा परेको थियो । त्यतिबेला प्रदर्शनकारीले राष्ट्रपति निवास तोडफोड गर्नुका साथै आगजनी समेत गरेका थिए ।

राष्ट्रपति बस्ने कुर्सीदेखि, भित्तामा सजाइएका तस्बिरहरु समेत जलाउने, भाँच्ने काम भएका थिए । यही मौकामा भित्तामा राखिएका दुई थान हात्तीका दाह्रा समेत चोरी भएको खुलेको हो ।

चोरी भएको करिब ९ महिनापछि प्रहरीले दाह्रा चोरीको आरोपमा ६ जनालाई दाह्रासहित पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नयाँ बसपार्क तथा मनमैजु क्षेत्रमा मंगलबार राति अपरेशन चलाएर केही व्यक्तिलाई पक्राउ गरेको हो ।