रवि लामिछानेले नरेन्द्र मोदीसँग ‘वान टु वान’ वार्ता गर्ने
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बीच आज साँझ भेटवार्ता हुने भएको छ । पाँच दिने भारत भ्रमणमा रहेका लामिछानेले भारतीय राजनीतिक तथा कूटनीतिक वृत्तका विभिन्न महत्वपूर्ण व्यक्तिहरूसँग भेटघाटलाई तीव्रता दिइरहेका बेला प्रधानमन्त्री मोदीसँगको भेटलाई विशेष महत्वका साथ हेरिएको छ ।
भ्रमणका क्रममा लामिछानेले भारतका विभिन्न राजनीतिक दलका नेताहरू, नीति निर्माणसँग सम्बन्धित व्यक्तिहरू तथा प्रभावशाली संस्थाका प्रतिनिधिहरूसँग छलफल गरिरहेका छन् । आज हुने भेटमा लामिछाने र मोदीबीच नेपाल–भारत सम्बन्ध, दुई देशबीचको आर्थिक तथा सामाजिक सहकार्य, क्षेत्रीय राजनीतिक अवस्था तथा आपसी हितका समसामयिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
स्रोतका अनुसार दुवै नेताबीच ‘वान टु वान’ वार्ता हुने कार्यक्रम तय गरिएको छ । उक्त भेटपछि उनीहरू सँगै डिनर कार्यक्रममा सहभागी हुने तयारीसमेत रहेको बताइएको छ । भारतीय पक्षले लामिछानेलाई विशेष प्राथमिकता दिँदै उच्चस्तरीय भेटघाटको व्यवस्था मिलाएको चर्चा भारतीय राजनीतिक वृत्तमा समेत भइरहेको छ ।
रास्वपाका सभापति लामिछानेको यो भ्रमणलाई नेपाल–भारत सम्बन्धका सन्दर्भमा चासोका साथ हेरिएको छ । विशेषगरी नयाँ पुस्ताका राजनीतिक नेतृत्व र भारतबीचको सम्बन्ध विस्तार तथा आपसी समझदारी अभिवृद्धिमा यस भ्रमणले सकारात्मक सन्देश दिन सक्ने विश्लेषण गरिएको छ ।
यद्यपि, लामिछाने–मोदी भेटका एजेन्डाबारे दुवै पक्षले औपचारिक विवरण सार्वजनिक गरिसकेका छैनन् । भेटपछि हुने छलफल र त्यसबाट निस्कने निष्कर्षले नेपालको राजनीतिक तथा कूटनीतिक क्षेत्रमा थप चासो सिर्जना गर्ने अपेक्षा गरिएको छ।