कृत्रिम व्यवसाय खडा गरी कर्जा दुरूपयोग गरेको कसुरमा संलग्न व्यक्ति पक्राउ

बुधबार, २० जेष्ठ २०८३

काठमाडौं-कृत्रिम व्यवसाय खडा गरी पटक पटक कर्जा दुरूपयोग गरेको कसुरमा संलग्न रहेको अभियोगमा राम जानकी हेल्थ फाउण्डेसनका सञ्चालक समितिका अध्यक्ष तथा इन्स्टिच्युट अफ एग्रिकल्चर फरेस्ट एण्ड भेटेरिनेरी साइन्सेस प्रा.लि का सञ्चालक काठमाडौं महानगरपालिका-९ रातोपुल बस्ने ओम प्रसाद पाण्डेलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा उच्च अदालत पाटन ललितपुरबाट २०८२ मंसिर २८ गते पक्राउ पूर्जी जारी भएका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले धनुषा छिरेश्वरनाथ नगरपालिका-१ रमदैयास्थित जानकी मेडिकल कलेजको प्राङ्गणबाट पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनले इन्स्टिच्युट अफ एग्रिकल्चर फरेस्ट एण्ड भेटेरिनेरी साइन्सेस प्रा.लि नामक कृत्रिम व्यवसाय खडा गरी Detail Project Plan (DPR) बिना तथा धितोको अस्वभाविक रूपमा बढी मुल्याङ्कन गरीरगराई कर्जा लिएको, प्रभु बैंकबाट जुन प्रयोजनको लागि कर्जा लिएको हो सो को अन्यत्र प्रयोग गरीरगराई पटक पटक कर्जाको दुरूपयोग गरेको खुल्न आएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।