सांसदलाई ४ अर्ब ३२ करोड बजेट बाँड्दै सरकार

बिहिबार, २१ जेष्ठ २०८३

हेटौंडा – बागमती प्रदेश सरकारले १०४ जना प्रदेश सांसदलाई ४ अर्ब भन्दा बढी बजेट छुट्याउने भएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत प्रदेशसभामा प्रतिनिधित्व गर्ने ७ राजनीतिक दलका १०४ जना प्रदेशसभा सदस्यलाई सरकारले ५ र ३ करोडका दरले बजेट छुट्याउन लागेको हो ।

सरकारले प्रत्यक्ष तर्फका ६० सांसदलाई ५ करोडका दरले ३ अर्ब र समानुपातिक सांसदलाई ३ करोडका दरले १ अर्ब ३२ करोड रुपैयाँको बजेट बाँड्ने तयारी भइरहेको एक प्रदेशसभा सदस्यले बताएका छन् ।

प्रदेशसभामा ११० जना सांसद रहेको प्रदेशसभामा गत प्रतिनिधिसमा निर्वाचनमा भाग लिन ६ जना सांसदले राजीनामा दिएका थिए । एमालेका प्रकाश श्रेष्ठ र अमनकुमार मास्के, कांग्रेसका कुन्दनराज काफ्ले, नेकपाका युवराज दुलाल, बसन्त मानन्धर र राप्रपाका सुनिल केसीले राजीनामा दिएका थिए । यी सबै प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

बागमती प्रदेशसभामा कांग्रेसका ३६ र एमालेका २५ गरी सत्तापक्षका ६१ सांसद छन् । प्रतिपक्षतर्फ नेकपाको २६, राप्रपाका १२, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को ३ र हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन् ।

सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले सांसदहरुलाई बजेट तोकेर योजना नबाँडिएको बताएका छन् । उनले सांसदलाई आफ्नो निर्वाचन क्षेत्रमा कुन योजना हाल्ने भनेर छनौट गर्नलाई अप्सन दिइएको बताए । आयोजना बैंकबाट आएकोमा कुन बजेट हाल्दा हुन्छ भनेर बजेटलाई सन्तुलित बनाउन छनौट गर्न दिएको मन्त्री तामाङको भनाई छ ।