नख्खु बम विस्फोटका मुख्य योजनाकार विप्लव नेता पक्राउ

शुक्रबार, १० साउन २०७६

काठमाडौं – गत फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा गराइएको बम विस्फोटका मुख्य योजनाकार पक्राउ परेका छन् ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट युवा संगठनका सदस्य भोजपुर षडानन्द नगरपालिका ९ का ३३ वर्षीय दोर्ची शेर्पालाई प्रहरीले काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो।

प्रहरीले सो घटनामा विप्लव नेकपाका ८ जना कार्यकर्ताहरूको सहभागिता रहेको जनाउँदै आएको छ । प्रहरीले यसअघि ७ जनालाई पक्राउ गरिसकेको जनाएको छ। उक्त घटनामा परेर एक जनाको मृत्यु भएको थियो भने अन्य ३ जना घाइते भएका थिए।

त्यस्तै, सुर्खेत प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका २ जना कार्यकर्तालाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी व्यूरो टोलीले शुक्रबार वीरेन्द्रनगर–१०, पदमपुरबाट विप्लव नेकपाको भ्रातृ संगठन युवा संगठन जाजरकोटका अध्यक्ष खड्कबहादुर सिंह र लेखबेसी–६, बाट सुर्खेत जिल्ला सदस्य हिरु शाहीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी) प्रदीपबहादुर क्षेत्रीले अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा जाजरकोटबाट फरार रहेका सिंहलाई पक्राउ गरी शुक्रबार नै जाजरको पठाइएको बताए ।

उनले विप्लवका अर्का जिल्ला कमिटी सदस्य शाहीलाई भने नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय छिन्चुमा थप अनुसन्धान भइरहेको जनाए ।