कोरियामा अध्ययनरत नेपाली विद्यार्थीको संख्या २० हजार नाघ्यो
काठमाडौं – दक्षिण कोरियामा अध्ययनरत नेपालीको विद्यार्थीको संख्यामा २० हजार नाघेको छ । कोरियाको न्याय मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार मार्च इन्टेक २०२६ सम्म नेपाली विद्यार्थीको संख्या २० हजार २ सय २४ पुगेको हो ।
जस अन्तरगत सिधै एकेडेमिक अध्ययन गर्ने (डि२ भिसा) विद्यार्थीको संख्या १९ हजार ५ सय ८१ रहेको छ भने अंग्रेजी, कोरियन भाषालाई माध्ययम बनाएर एकेडेमिक कोर्ष गर्न जाने (डि४ भिसा) विद्यार्थीको संख्या ७ सय ४३ रहेको छ । अस्ट्रेलिया, अमेरिका लगायतका देशहरुले विद्यार्थी भिसामा कडाई गरेपछि नेपालबाट कोरियामा जाने विद्यार्थीको संख्या बढेको हो ।
कोरियामा सबैभन्दा धेरै भेतनामी विद्यार्थीहरु अध्ययनरत रहेका छन् । भेतनाम, चीन, उज्वेकिस्तानपछि नेपालबाट सबैभन्दा धेरै विद्यार्थी अध्ययनका लागि कोरिया पुगेका छन् । मन्त्रालयको तथ्याङ्क अनुसार १ लाख २२ हजार ७ सय ३४ भेटनामी, ७६ हजार २ सय ८४ चिनियाँ र २२ हजार ४ सय ७७ उज्वेकिस्तानी कोरियाका विभिन्न विश्वविद्यालयमा अध्ययनरत रहेका छन् ।
नेपालबाट अध्ययनका लागि कोरिया पुगेका विद्यार्थीहरु गैरकानुनी कार्यमा संलग्न हुँदा दैनिक जसो कारवाहीमा पर्ने गरेका छन् । वर्क परमिट नलिएरै काम गर्ने, तोकिएको अवधिभन्दा लामो समय काम गर्ने विद्यार्थीहरु सरकारको निसानामा पर्ने गरेका छन् ।