विवादका कारण रास्वपा मधेस प्रदेशको अधिवेशन टर्यो

आइतबार, ३१ जेष्ठ २०८३

काठमाडौँ – राष्ट्रिय महाधिवेशन अगाडि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को मधेस प्रदेश अधिवेशन नहुने भएको छ । निर्वाचित सांसदहरूको दबाब र जातीय संकीर्णताका कारण स्थगित भएको अधिवेशन महाधिवेशन अगाडि हुने सम्भावना नरहेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगले जेठ २६ गते एक सूचना जारी गर्दै अधिवेशनको निष्पक्ष, पारदर्शी, विश्वसनीय तथा विधिसम्मत सञ्चालन सुनिश्चित गर्न आवश्यक देखिएकाले मधेस अधिवेशनको सम्पूर्ण गतिविधि स्थगित गरिएको जानकारी दिएको थियो ।

आयोगका प्रमुख भुवन केसीले राष्ट्रिय महाधिवेशनको मिति नजिकिएकाले मधेसको अधिवेशन तत्काल हुने सम्भावना नरहेको बताए ।‘महाधिवेशन अगाडि मधेस प्रदेशको अधिवेशन गर्न सम्भव छैन । हामीसँग समय पनि छैन । विधि, प्रक्रिया, पद्धति अनुसार मधेसमा काम गर्न त्यति सजिलो छैन । शान्तिपूर्ण र सुरक्षित रूपमा अधिवेशन गराउन अप्ठ्यारो छ । बरु महाधिवेशन पछि विशेष समिति बनाएर अधिवेशन गर्दा उपयुक्त हुने देखिन्छ’, रातोपाटीसँग केसीले भने ।

मधेस प्रदेशमा विवाद तथा दुई पक्षीय झडपका कारण पर्सा बाहेक अन्य ७ जिल्लाको अधिवेशन पनि स्थगित भएको थियो । यद्यपि, महाधिवेशन अगावै अधिवेशन सम्पन्न गर्न पार्टी नेतृत्व र निर्वाचन अयोगसँग पहल भइरहेको प्रदेशका महामन्त्री मनिषकुमार साहले बताएका छन्  ।

जिल्ला स्तरीय नेताहरूले पार्टीका केन्द्रीय प्रवक्ता मनिष झा, प्रदेश सभापति तपेश्वर यादव, समानुपातिक सांसद पुरुषोत्तम यादव लगायत नेताहरूको स्वार्थका कारण अधिवेशन स्थगित भएको आरोप लगाएका छन् ।विवादका बिच बागमती प्रदेश, कोशी प्रदेश र गण्डकी प्रदेशमा नयाँ नेतृत्व चुनिएको छ । लुम्बिनी प्रदेशमा पहिलो चरणमा कसैको पनि बहुमत(५० प्लस १) मत प्राप्त नहुँदा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ ।