रास्वपामा महामन्त्रीका लागि ८ जनाको प्रतिस्प्रधा

शुक्रबार, ५ असार २०८३

काठमाडौँ – असार ७, ८ र ९ गते हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन नजिकिँदै जाँदा पार्टीभित्र महामन्त्री पदका लागि तीव्र प्रतिस्पर्धा सुरु भएको छ।

सभापतिपछिको सबैभन्दा शक्तिशाली मानिने यो पदका लागि पुराना र नयाँ अनुहारबीच रोचक भिडन्त हुने संकेत देखिएको छ।

बालेन समूहसँगको एकीकरणपछि यसपटक दुई जना महामन्त्री चयन हुने भएकाले आकांक्षीहरूको संख्या बढेको छ। हालका महामन्त्री कवीन्द्र बुर्लाकोटी र भूपदेव शाह पुनः दोहोरिने प्रयासमा छन् भने विपिन आचार्य, दीपक बोहोरा, मनिष झा र हरि ढकाल पनि बलिया दाबेदारका रूपमा अघि आएका छन्।

यता सोविता गौतम र यज्ञमणी न्यौपानेको नाम पनि सम्भावित ‘सरप्राइज’ उम्मेदवारका रूपमा चर्चामा छ। पार्टीभित्र भूपदेव शाहलाई सर्वसम्मत बनाउने गरी सभापति रवि लामिछानेले रणनीति बनाउन सक्ने चर्चा भइरहेका बेला दोस्रो महामन्त्री पदका लागि भने कडा प्रतिस्पर्धा हुने देखिएको छ।