मष्टेश्वर माध्यमिक विद्यालयमा अनियमितताको आरोप, छानबिन गर्न युवाको माग

शनिबार, १३ असार २०८३

डोटी – बोगटान फूड्सील गाउँपालिका–६ मा रहेको मष्टेश्वर माध्यमिक विद्यालयमा विभिन्न अनियमितता भएको आरोप लगाउँदै स्थानीयले निष्पक्ष छानबिनको माग गरेका छन्। स्थानीय युवाहरुको एक समूहले गणित विषयलाई नेपाली माध्यममा रूपान्तरण गरिएको, विद्यालयको स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरी होटल, पसल तथा घर निर्माण गर्न दिएको, विद्यार्थीका लागि आएको दिवा खाजाको रकमबाट शिक्षक नियुक्ति गरेर अनियमितता गरेको आरोप लगाएका छन् ।

स्थानीयको गुनासो अनुसार विद्यालयमा गणित विषयलाई नेपाली माध्यममा रूपान्तरण गरिए पनि विषयको प्रभावकारी पठनपाठन हुन नसकेको आरोप लगाएका छन् । योग्य शिक्षक नहुँदा विद्यार्थीको शैक्षिक गुणस्तरमा असर परेको आरोप लगाउँदै बोगटान फूड्सील गाउँपालिका–६ का वडा अध्यक्ष श्याम बोगटी र विद्यालयका प्राधानाध्यापक झकेन्द्र चन्दले शैक्षिक गुणस्तरमा ध्यान नदिएका बताएका छन् ।

केही शिक्षकले आफ्नो जिम्मेवारीअनुसार अध्यापन नगरेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ। युवाहरुले विद्यालयको शैक्षिक सुधारका लागि राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्ने बताएका छन् । ‘हाम्रो विद्यालयमा राजनीतिक हस्तक्षप बढेको छ । जसका कारण शैक्षिक वातावरण प्रभावित भएको छ।’, मोटिभेट न्यूज डटकमसँगको संबादमा एक युवाले भने, ‘विद्यालय व्यवस्थापन समितिमा जनप्रतिनिधिको संलग्नताले निष्पक्ष व्यवस्थापनमा प्रश्न उठेको छ । उहाँले वडाको काममा ध्यान दिदा विद्यालयको काम प्रभावित भएको छ ।’

गाउँपालिका अध्यक्ष र वडाध्यक्ष फरक राजनीतिक पृष्ठभूमिका व्यक्ति भएकाले उनीहरुको लडाईंका कारण विद्यालय व्यवस्थापन समिति गठन गर्न नसकिएको स्थानीयको आरोप छ । अहिले वडाध्यक्ष श्याम बोगटी नै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेका छन् । गत मंसिरको अभिभावक भेलाले अध्यक्ष निर्वाचित गर्न नसकेपछि वडाध्यक्षलाई नै व्यवस्थापन समिति अध्यक्षको जिम्मेवारी दिने निर्णय भएको छ ।

साथै, स्थानीय युवाहरुले विद्यालयको स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरी होटल, पसल तथा घर निर्माण गर्न दिएर अनियमितता गरेको आरोपसमेत लगाइएको छ। उक्त विषयमा विद्यालयको सम्पत्ति संरक्षणका लागि तत्काल छानबिन गरी आवश्यक कदम चाल्न स्थानीय निकायसँग माग गरेका छन् ।

विद्यार्थीका लागि सञ्चालन हुने दिवा खाजा कार्यक्रममा समेत अनियमितता भएको पाइएको छ । कक्षा ५ सम्म संचालन हुने दिवा खाजा कार्यक्रमबाट खाजा रकम कटौती गरेर दुई जना शिक्षकलाई नियुक्ति दिएको आरोप लगाइएको छ । खाजा रकम कटौटी हुँदा विद्यार्थीले पाउनुपर्ने सुविधा नपाएको तथा रकम दुरुपयोग भएको उनीहरुको आरोप छ।

वडाध्यक्ष श्याम बोगटीले विद्यालयमा हुने अनियमिताताका बारेमा छानविन गर्ने बताएका छन् । मोटिभेट न्यूजसँगको टेलिफोन संवादमा बोगटीले विद्यालयमा भएको अनियमितताका बारेमा आफूलाई कुनै पनि जानकारी नभएको बताउँदै यदि त्यस्तो भएको पाइए आफूले नियन्त्रण गर्दै विद्यालयको शैक्षिक गुणस्तरमा सुधार्न ध्यान दिने बताएका छन् ।

विद्यालयका प्रधानाध्यापक झकेन्द्र चन्दले स्थानीय युवाहरुले लगाएका आरोप अस्वीकार गरेका छन् । बारम्बार विज्ञापन गर्दा पनि शिक्षक नपाइएपछि वैकल्पिक उपाय अपनाएर पठनपाठनलाई निरन्तरता दिएको, दिवा खाजाको रकममा नभई आफ्नै श्रोतबाट शिक्षक नियुक्ति गरेको र विद्यालयको जमिन अरुलाई प्रयोग गर्न नदिएको भन्दै स्थानीयले लगाएको आरोपको खण्डन गरेका हुन् ।

स्थानीयले सम्बन्धित पालिका, शिक्षा शाखा तथा सरोकारवाला निकायसँग विद्यालयका सम्पूर्ण गतिविधिको छानबिन गरी दोषी देखिएमा कारबाही गर्न माग गरेका छन्।