आज सामान्य बर्ष हुने, कस्तो छ भोली र पर्सिको मौसम पूर्वानुमान ?

सोमबार, १३ साउन २०७६

काठमाडौं – मनसुनको न्यून चापिय रेखा नेपालको तराई भूभागभन्दा दक्षिणतिर रहेकाले नेपालमा मनसुनी गतिविधि कम सक्रिय अवस्थामा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशभर सामान्य बदलीको अवस्था रहेको छ भने पश्चिमी पहाडी भूभागका केहि स्थानहरूमा अहिले सामान्य वर्षा भईरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा वर्षा हुने संभावना छ । राति पनि केही स्थानमा हल्का देखि मध्यम वर्षा हुने संभावना रहेको महाशाखाले जनाएको छ ।

मंगलबार दिउँसो सामान्य वर्षा भएपनि राति भने पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा मध्यमदेखि भारी वर्षाको संभावना रहेको जनाइएको छ ।

बुधबार दिउँसोसम्म केही स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ । पहाडी क्षेत्रमा पहिरो जान सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।