इरानमाथि अमेरिकाको भीषण हवाई आक्रमण
काठमाडौं – अमेरिकाले इरानमाथि भीषण हवाई आक्रमण गरेको छ । अमेरिकाले अन्तर्राष्ट्रिय जलमार्गमा अवरोध पुर्याए महँगो मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ ।अमेरिकी सेन्ट्रल कमान्डका अनुसार, होर्मुज जलमार्गबाट गुज्रिरहेका तीनवटा व्यापारिक जहाजमाथि इरानले गरेको आक्रमणको जवाफस्वरूप यो हवाई हमला गरिएको हो । अमेरिकी सेनाले अन्तर्राष्ट्रिय समुद्री मार्गलाई निसाना बनाउनेहरूले भारी मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ ।
यसको विपरीत, इरानको विदेश मन्त्रालयले अमेरिकामाथि दुई देशबीच भएको समझदारीपत्रको बारम्बार उल्लंघन गरेको आरोप लगाएको छ । मन्त्रालयले इरान आफ्नो राष्ट्रिय सुरक्षा र हितको रक्षाका लागि आवश्यक पर्ने जुनसुकै कदम चाल्न तयार रहेको स्पष्ट पारेको छ ।
अमेरिकाले इरानका सैन्य अड्डा र मिसाइल प्रणालीमा भीषण आक्रमण गरेको छ । अमेरिकी सेनाका अनुसार, यस हवाई हमलामा होर्मुज जलमार्गनजिक रहेका इरानी सैन्य प्रतिष्ठानहरूलाई निसाना बनाइएको छ । तीमध्ये इरानको वायु रक्षा प्रणाली, तटीय निगरानी संयन्त्र, सतहबाट हावामा मार हान्ने मिसाइल प्रणाली, एन्टी–सिप क्रुज मिसाइल अड्डा, ड्रोन प्रक्षेपणस्थल तथा बन्दरगाहसँग सम्बन्धित पूर्वाधार छन् ।
एक अमेरिकी अधिकारीले ‘एक्जियोस’सँग कुरा गर्दै यो आक्रमण १० दिनअघि गरिएको हमलाको तुलनामा चारदेखि पाँच गुणा बढी शक्तिशाली र व्यापक रहेको दाबी गरेका छन् । अप्रिलमा भएको युद्धविरामयता अमेरिकाले इरानमाथि गरेको यो सबैभन्दा ठूलो सैन्य कारबाही भएको बताइएको छ । अर्का एक अधिकारीले भने, “यो केवल जवाफी कारबाही मात्र होइन, बरु सजाय दिने उद्देश्यले गरिएको हो । यो सजाय हो, र यो यत्तिकै रोकिनेवाला छैन ।”
सैन्य कारबाहीसँगै अमेरिकाले इरानी कच्चा तेल बिक्रीका लागि दिइएको अस्थायी छुट पनि रद्द गरिदिएको छ । यसअघि जुन २१ मा अमेरिकी वित्त मन्त्रालयले प्रतिबन्ध केही खुकुलो पार्दै अगस्ट २१ सम्मका लागि इरानी तेल तथा पेट्रोकेमिकल उत्पादन बिक्री गर्न अनुमति दिएको थियो ।
‘द टाइम्स अफ इजरायल’का अनुसार, होर्मुज जलमार्गमा इरानका गतिविधि अस्वीकार्य भएको निष्कर्षसहित अमेरिकाले उक्त छुट फिर्ता लिएको हो । यसको जवाफमा इरानले अमेरिकी निर्णयको कडा निन्दा गर्दै अस्थायी प्रतिबन्ध फुकुवाको निर्णय फिर्ता लिनु जुन १८ मा भएको ‘इस्लामावाद समझदारीपत्र’को धारा–१० को ठाडो उल्लंघन भएको जनाएको छ ।