किन भइरहेको छ सडकदेखि सदनसम्म अर्थमन्त्रीको विरोध ? एक जुनियर भाइको आँखाबाट देखिएका स्वर्णिम
राजनीतिमा केही मानिसहरू पदका कारण चर्चित हुन्छन्, केही व्यक्तित्वका कारण। तर केही दुर्लभ व्यक्तिहरू यस्ता पनि हुन्छन्, जसलाई जनताले उनीहरूको ज्ञान, अध्ययन र बौद्धिक क्षमताका कारण ठूलो आशाका साथ हेर्छन्। डा. स्वर्णिम वाग्ले त्यही श्रेणीका व्यक्ति हुन्। त्यसैले आज उनी सडकदेखि सदनसम्म आलोचनाको केन्द्रमा देखिँदा प्रश्न केवल एउटा अर्थमन्त्रीमाथिको आलोचनाको होइन, जनताको एउटा ठूलो अपेक्षा किन टुट्यो भन्ने हो।
मेरो लागि स्वर्णिम वाग्ले कुनै समाचारका पात्र मात्र होइनन्। म उनको समकालीन साथी नभएपनि बूढानीलकण्ठ स्कुलमा उनीभन्दा दुई वर्ष जुनियर भाइ हुँ। छात्रावासको एउटै छानामुनि बस्ने, एउटै कोठामा समय बिताउने अवसर पाएको थिएँ। टेबल टेनिस, गुच्चा, चुङ्गी खेल्दै, राति बाह्र बजेसम्म कथा, कविता र जोक्स सुनाउँदै बिताएका ती दिनहरू आज पनि सम्झनामा छन्।
त्यो बेला मैले देखेको स्वर्णिम वाग्ले असाधारण प्रतिभाका विद्यार्थी थिए भन्ने होइन, तर अत्यन्त मेहनती, अनुशासित र आफ्नो लक्ष्यप्रति स्पष्ट थिए। उनी आफ्नै संसारमा रमाउने, धेरै मानिससँग घुलमिल नगर्ने र सीमित साथीहरूसँग मात्र खुल्ने स्वभावका थिए । उनमा आत्मविश्वास धेरै थियो। कतिपयले त्यसलाई आत्मविश्वासका रूपमा हेर्थे, कतिपयले अलिकति अहंकारको रूपमा पनि बुझ्थे।
विद्यार्थी जीवनमा यस्ता गुण कमजोरी होइनन्। बरु सफलता दिलाउने आधार हुन्। तर समयसँगै मलाई लाग्न थालेको छ—राजनीतिमा सफल हुन यिनै गुणहरू पर्याप्त हुँदैनन्।
स्वर्णिमले प्रमाणपत्र जिते, तर राजनीति किन जित्न सकेनन् ?
स्वर्णिम वाग्लेको शैक्षिक यात्रा असाधारण छ। अर्थशास्त्रमा उच्च अध्ययन, अन्तर्राष्ट्रिय अनुसन्धान, संयुक्त राष्ट्रसंघका विभिन्न निकायमा लामो अनुभव, राष्ट्रिय योजना आयोगको नेतृत्व, यी सबै उपलब्धिले उनलाई नेपालको सबैभन्दा सक्षम अर्थशास्त्रीमध्ये एक बनाएको छ।
राजनीतिमा पनि उनको यात्रा छोटो भए पनि प्रभावशाली रह्यो। राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेपछि छोटो समयमै पार्टीको उपसभापति बन्नु र प्रतिनिधिसभामा निर्वाचित हुनु सामान्य उपलब्धि होइन। यही कारणले जनताले उनमा एउटा अर्थमन्त्री मात्र होइन, एउटा आर्थिक सुधारक देखेका थिए।
धेरैले उनीभित्र डा. बाबुराम भट्टराईजस्तै अध्ययनशील, नीतिमुखी र संरचनागत सुधार गर्न सक्ने नेतृत्वको सम्भावना देखेका थिए। तर आज त्यही स्वर्णिम किन रक्षात्मक छन् ? मेरो बुझाइमा उनको समस्या ज्ञानको होइन, नेतृत्व शैलीको हो। अर्थशास्त्रले तथ्य र तथ्यांक बुझाउँछ।
तर राजनीतिले मानिस बुझ्न सिकाउँछ।अर्थशास्त्री सही हुन सक्छ । राजनीतिज्ञले सही कुरालाई स्वीकार्य पनि बनाउनुपर्छ । यही ठाउँमा स्वर्णिम वाग्ले कमजोर देखिएका छन् । उनीले नीति बनाउन सक्छन् । तर नीति आफ्ना सहकर्मी, आफ्नै पार्टी र अन्ततः जनताले अपनाउने वातावरण बनाउन सक्नुपर्छ। राजनीतिमा ज्ञानभन्दा सम्बन्ध धेरै पटक शक्तिशाली हुन्छ । सायद यही कुरा उनले पर्याप्त रूपमा बुझ्न सक्नुभएको छैन।
सानो कोठामा रमाउने स्वभाव, ठूलो राजनीतिक घेरा बनाउन नसकेको नेतृत्व
विद्यार्थी जीवनमा मैले देखेको एउटा कुरा आज पनि सम्झन्छु । धेरैको भीडभन्दा सानो घेरामा रमाउने, आफ्ना काममा केन्द्रित हुने स्वभाव थियो । उनको ध्यान अरूले के सोचिरहेका छन् भन्नेभन्दा आफूले के गर्ने भन्नेमा बढी केन्द्रीत हुन्थ्यो ।
त्यो गुणले उनलाई सफल अर्थशास्त्री बनायो।तर सफल राजनीतिज्ञ बन्न मानिसलाई जित्नुपर्छ।आफ्नो कुरा सही भएको प्रमाणित गर्नु मात्र पर्याप्त हुँदैन।आफ्ना विरोधीलाई पनि साथमा हिँडाउन सक्नुपर्छ।मेरो विचारमा यही ठाउँमा उनी पछाडि परे ।
पहिलो बजेटमै किन गुम्यो जनविश्वास ?
कुनै पनि अर्थमन्त्रीको मूल्याङ्कन उसको पहिलो बजेटबाट सुरु हुन्छ । स्वर्णिम वाग्लेको पहिलो बजेटले ठूलो बहस जन्मायो । शिक्षा र स्वास्थ्य क्षेत्रमा करसम्बन्धी व्यवस्थाले आमनागरिकमा असन्तुष्टि बढायो । विद्युतीय सवारीसम्बन्धी कर नीतिलाई लिएर पनि विवाद उठे ।
यी सबै निर्णय सही थिए कि गलत भन्ने बहस फरक विषय हो।तर एउटा कुरा स्पष्ट देखियो— उनी आफ्ना निर्णयको औचित्य जनतालाई बुझाउन सफल भएनन् ।राजनीतिमा धेरै पटक सही निर्णयभन्दा सही संवाद महत्वपूर्ण हुन्छ ।त्यही संवादबाट उनी चुके ।
आफ्नै सरकारभित्र किन कमजोर देखिए ?
सार्वजनिक चर्चा र राजनीतिक विश्लेषणहरूमा अर्थमन्त्री आफ्नै सहकर्मीहरूबीच अपेक्षाजस्तो प्रभाव कायम राख्न संघर्षरत देखिएको धारणा व्यक्त हुने गरेको छ।यसको औपचारिक पुष्टि नभए पनि एउटा कुरा सत्य हो—यदि कुनै मन्त्री आफ्नै टिमलाई विश्वासमा लिन सक्दैन भने उसले देशलाई विश्वास दिलाउन झन् कठिन हुन्छ।नेतृत्वको पहिलो परीक्षा आफ्नै सहकर्मीभित्र हुन्छ । त्यो परीक्षा स्वर्णिम वाग्लेले अझै उत्तीर्ण गर्न बाँकी रहेको जस्तो देखिन्छ।
नेपालमा धेरै प्रतिभाशाली मानिस राजनीतिमा आएका छन्।तर सबै सफल भएका छैनन्। किनभने राजनीति विश्वविद्यालयको कक्षा होइन।यो सम्बन्धको विश्वविद्यालय हो।यहाँ पीएचडीभन्दा धैर्य ठूलो हुन्छ।तथ्यभन्दा विश्वास ठूलो हुन्छ र ज्ञानभन्दा सहकार्य ठूलो हुन्छ।स्वर्णिम वाग्लेले ज्ञानमा कसैसँग प्रतिस्पर्धा गर्नुपर्दैन।तर नेतृत्वमा भने अझै धेरै सिक्न बाँकी देखिन्छ।
एक जुनियर भाइको आग्रह
आज पनि म उनलाई त्यही बूढानीलकण्ठ स्कुलको छात्रावासमा देखेको मेहनती दाइकै रूपमा सम्झन्छु। उनी इमानदार छन् भन्ने मेरो विश्वास आज पनि छ।अध्ययनशील छन् भन्ने कुरामा कुनै शंका छैन। तर एउटा शुभेच्छुक जुनियर भाइका रूपमा भन्न मन लाग्छः
दाइ, राजनीतिमा सबैभन्दा ठूलो शक्ति तपाईंको ज्ञान होइन, तपाईंसँग हिँड्न तयार हुने मानिसहरूको संख्या हो।आफ्नो क्षमतामाथि जति विश्वास छ, त्यति नै विश्वास सहकर्मीमाथि पनि गर्न सिक्नुपर्छ।
आफ्ना निर्णयहरू जनतासँग सरल भाषामा राख्न सिक्नुपर्छ।आलोचनालाई विरोध होइन, सुधारको अवसरका रूपमा लिन सक्नुपर्छ।किनकि इतिहासले मानिसलाई उसले कति पढ्यो भनेर होइन, उसले कति परिवर्तन ल्यायो भनेर सम्झन्छ।
अझै समय बितिसकेको छैन। तपाईंले गुमेको विश्वास फिर्ता ल्याउन सक्नुहुन्छ। किनकि जनताले तपाईंको प्रमाणपत्रमाथि होइन, तपाईंको सम्भावनामाथि विश्वास गरेका थिए। र त्यो सम्भावना अझै समाप्त भएको छैन।
यद्यपि, यदि वर्तमान परिस्थितिमा आफ्ना नीतिहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक राजनीतिक विश्वास, सहकार्य र अनुकूल वातावरण निर्माण गर्न सम्भव देखिँदैन भने, कुनै पनि पदमा केवल टिकिरहनका लागि संघर्ष गर्नु भन्दा जिम्मेवारीपूर्वक मार्गप्रशस्त गर्नु नै परिपक्व नेतृत्वको परिचय हुन सक्छ।
सरकारबाट बाहिरिएर पनि संसद्मा एक सशक्त सांसदका रूपमा जनताका जायज आवाज उठाउने, सरकारलाई रचनात्मक सुझाव दिने र आर्थिक सुधारका पक्षमा प्रभावकारी पैरवी गर्ने भूमिका पनि उत्तिकै सम्मानजनक र अर्थपूर्ण हुन्छ । कहिलेकाहीँ पद छोड्नु पराजय होइन, सही समयमा सही निर्णय लिन सक्नु नै नेतृत्वको सबैभन्दा ठूलो साहस हो।
(फिचर इमेज एआईबाट तयार पारिएको हो । –सम्पादक)