विद्युत आपूर्ति चुस्त बनाउन प्राधिकरणको २६ बुँदे एक्सन प्लान

बुधबार, ६ साउन २०८३

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले बारम्बारको विद्युत् अवरोध, कमजोर वितरण प्रणाली र बढ्दो उपभोक्ता गुनासोलाई सुधार्न देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ । वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख एवं उपकार्यकारी निर्देशक राजन ढकालले जिम्मेवारी सम्हालेकै पहिलो दिन २६ बुँदे सुधारात्मक निर्देशन जारी गर्दै वितरण प्रणालीलाई ‘रिएक्टिभ’ नभएर ‘प्रोएक्टिभ’ बनाउने रणनीति अघि सारेका छन् ।

अहिले देखिएका समस्या समाधान, भविष्यमा समस्या आउनै नदिने प्रणाली विकास गर्ने जनाइएको छ । त्यसका लागि प्राधिकरणले सबैभन्दा बढी समस्या हुने फिडर पहिचानदेखि पूर्वसावधानीमूलक मर्मत, चुहावट नियन्त्रण, कर्मचारीको जबाफदेहिता र उपभोक्ता सेवासम्मका विषयलाई एउटै कार्ययोजनामा समेटेको छ ।प्राधिकरणले पछिल्लो समय विद्युत् आपूर्तिमा देखिएको अविश्वसनीयता मुख्य चुनौतीका रूपमा पहिचान गरेको छ । विभिन्न क्षेत्रमा बारम्बार फिडर ट्रिपिङ हुने, ओभरलोड ट्रान्सफर्मर, कमजोर कन्डक्टर तथा जम्पर, रुखका हाँगा र झाडीका कारण लाइनमा अवरोध आउने, असुरक्षित पोल तथा संरचना, ढिलो मर्मत तथा उपभोक्ताका गुनासो समयमै सम्बोधन नहुने अवस्थालाई सुधारको मुख्य आधार बनाइएको छ ।

यसका लागि सबै प्रादेशिक कार्यालयलाई सबैभन्दा बढी समस्या आउने २० वटा फिडरलाई ‘प्रायोरिटी रिलायबिलिटी फिडर’ घोषणा गर्न निर्देशन दिइएको छ । ती फिडरमा ट्रिपिङ, दोहोरिने खराबी, उपकरणको अवस्था, लोड व्यवस्थापन तथा सुधार कार्यको साप्ताहिक समीक्षा गरिनेछ । साथै, बढी समस्या हुने क्षेत्र पहिचान गरेर जिम्मेवार कर्मचारी, समाधानको योजना र समयसीमा तोक्न पनि निर्देशन दिइएको छ ।प्राधिकरणले तत्काल परिणाम देखाउने उद्देश्यले आगामी दुई महिनालाई विशेष मर्मत अभियानका रूपमा सञ्चालन गर्ने भएको छ । यस अवधिमा रुखका हाँगा काट्ने, झाडी सफा गर्ने, लाइन करिडोर खाली गर्ने, जम्पर कस्ने वा फेर्ने, जोखिमयुक्त संरचना सुधार गर्ने र असुरक्षित ट्रान्सफर्मर तथा पोलको व्यवस्थापनलाई प्राथमिकता दिइनेछ। स्थायी समाधान हुन नसकेका स्थानमा अस्थायी रूपमा पनि सुरक्षित व्यवस्था गर्न निर्देशन दिइएको छ ।

विद्युत् वितरण प्रणालीको दीर्घकालीन सुधारका लागि अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजना एक साताभित्र तयार पार्न भनिएको छ । सम्भव भएका ३३ र ११ केभी सबस्टेसनलाई रिङ प्रणालीमा जोड्ने योजना पनि तयार गर्नुपर्नेछ। साथै, स्वीकृत भएका सुधार कार्यक्रमअन्तर्गत १५ दिनभित्र ठेक्का प्रक्रिया सुरु गर्न निर्देशन दिइएको छ ।प्राधिकरणले अब समस्या आएपछि मात्रै मर्मत गर्ने अभ्यास अन्त्य गर्ने नीति पनि लिएको छ । लाइन, फिडर, ट्रान्सफर्मर तथा अन्य वितरण संरचनाको वार्षिक, अर्धवार्षिक र मासिक मर्मत तालिका लागू गरिनेछ। योजनाबद्ध विद्युत् बन्दको सूचना आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमार्फत अग्रिम जानकारी गराउनुपर्ने तथा आकस्मिक अवरोध भए तत्काल सूचना प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको छ ।

ओभरलोड भएका ट्रान्सफर्मर तथा फिडरमा लोड सन्तुलन, लोड स्थानान्तरण, ट्रान्सफर्मर स्तरोन्नति, नयाँ ट्रान्सफर्मर जडान, कन्डक्टरको क्षमता वृद्धि तथा फिडर विभाजन जस्ता प्राविधिक उपाय अपनाइनेछन्। वितरण केन्द्रमा कार्यरत इन्जिनियर तथा सुपरभाइजरलाई फिडर अनुसार जिम्मेवारी तोकिनेछ भने सबै प्रकारका कर्मचारीको कार्य विवरण स्पष्ट पारेर जबाफदेहिता बढाइनेछ ।निर्देशनले विद्युत् सुरक्षालाई पनि उच्च प्राथमिकतामा राखेको छ । सञ्चालन, मर्मत, परीक्षण तथा सेवा पुनर्स्थापना सम्पूर्ण काम स्वीकृत सुरक्षा मापदण्डअनुसार मात्रै गर्नुपर्ने व्यवस्था गरिएको छ । फिल्डमा व्यक्तिगत सुरक्षा उपकरणको प्रयोग अनिवार्य गरिएको छ भने प्रत्येक कार्यालयमा सुरक्षा सम्पर्क व्यक्ति तोकिने, नियमित सुरक्षा अभिमुखीकरण, टुलबक्स टक तथा दुर्घटना र ‘नियर मिस’ घटनाको अभिलेख राख्ने व्यवस्था समेत लागू गरिनेछ ।