नेपाली कला–साहित्य नेपाली समाजको भावना, इतिहास र पहिचान होः सभामुख अर्याल

शनिबार, ९ साउन २०८३

काठमाडौं — सभामुख डोलप्रसाद अर्यालले गीत, संगीत, साहित्य र कला नेपाली समाजको भावना, इतिहास र पहिचान भएको बताएका छन् ।

शनिबार वरिष्ठ गीतकार रमोलादेवी शाह ‘छिन्नलता’को १०४औँ जन्मजयन्ती तथा ४४औँ छिन्नलता गीत पुरस्कार समर्पण समारोह–२०८३ लाई सम्बोधन गर्दै उनले गीत, संगीत, साहित्य र कलाले नेपाली जनजीवनका सुख–दुःख, प्रेम–विरह, आशा–आकांक्षा, सामाजिक चेतना र राष्ट्रिय भावनालाई प्रभावकारी रूपमा अभिव्यक्त गरेको बताए ।

उनले भने, ‘गीत, संगीत, साहित्य र कला हाम्रो भावना हो । हाम्रो इतिहास र पहिचान पनि हो। नेपाली जनजीवनका सुख–दुःख, प्रेम–विरह, आशा, आकांक्षा, सामाजिक चेतना र राष्ट्रिय भावनालाई गीत, संगीत, कला र साहित्यले अत्यन्त प्रभावकारी भूमिका खेलेको छ । यही समृद्ध परम्परालाई निरन्तरता दिने क्रममा छिन्नलता गीत पुरस्कार गुठीले लामो समयदेखि नेपाली गीत–संगीतका स्रष्टाहरूलाई सम्मान र प्रोत्साहन गर्दै आएको छ ।’

सभामुख अर्यालले छिन्नलता गीत पुरस्कार गुठी नेपाली गीतकार तथा स्रष्टा रमोलादेवी शाह ‘छिन्नलता’को सिर्जनात्मक योगदान र स्मृतिसँग जोडिएको संस्था भएको उल्लेख गरे ।

उनले भने, ‘छिन्नलता गीत पुरस्कार गुठीको नाम नेपाली गीतकार तथा स्रष्टा रमोलादेवी शाह ‘छिन्नलता’को सिर्जनात्मक योगदान र स्मृतिसँग जोडिएको छ । उहाँको योगदानलाई स्मरण गर्दै स्थापना भएको यो पुरस्कारले नेपाली गीत–संगीत क्षेत्रमा निरन्तरता, गुणस्तर र सिर्जनशीलतालाई प्रोत्साहन गर्दै आएको छ ।’

यस वर्षको छिन्नलता गीत पुरस्कारबाट वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ विशेष सम्मानबाट सम्मानित भएका छन् ।

त्यसैगरी, डा. नवराज लम्साल (गीत रचना), किरण कँडेल (संगीत सिर्जना), बिमला राई (गायन) र सारिका घिमिरे (युवा प्रतिभा)बाट सम्मानित तथा पुरस्कृत भएका छन् ।