बाढीमा ज्यान गुमाउनेको संख्या १११४ पुग्यो, ४ हजार अझै बेपत्ता
काठमाडौं -बाढीमा अहिलेसम्म १११४ जनाको मृत्यु पुष्टि भएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अहिले बिहान ९ बजेसम्मको अपडेटअनुसार सबैभन्दा धेरै चितवनमा ३४८, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा १९० र नुवाकोटमा १५५ जनाको शव फेला परेको छ ।
यस्तै, तनहुँमा ३८, धादिङमा ५९, गोरखामा ६६ र रसुवामा ४१ जनाको शव फेला परेको छ । फेला परेका शवहरूमध्ये हालसम्म ९५ जनाको मात्र सनाखत भई आफन्तलाई बुझाइएको छ ।अझै पनि ३ हजार ९ सय १६ जना सम्पर्कविहीन छन् । बेपत्ता हुनेहरूमा सरकारी कर्मचारी, सुरक्षाकर्मी, जनप्रतिनिधि, विदेशी नागरिक, स्थानीय बासिन्दा र जलविद्युत आयोजनामा कार्यरत श्रमिक रहेका छन् ।हालसम्म ११ हजार ९ सय ९३ जनाको सफल उद्धार गरिएको छ । नेपाली सेनाको हवाई उडानमार्फत मात्र ४०९१ नेपाली र २७३ विदेशी नागरिकको उद्धार गरिएको छ ।
घाइते भएका २१२ जनामध्ये १८२ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।उद्धार र सुरक्षाका लागि कुल २१३१४ सुरक्षाकर्मी परिचालन गरिएको छ, जसमा ९१९९ नेपाली सेना, ७९१२ नेपाल प्रहरी र ४२०३ सशस्त्र प्रहरी बलका जवानहरू रहेका छन् ।प्रभावित क्षेत्रका ३४५३ व्यक्तिहरूलाई होल्डिङ सेन्टरमा राखिएको छ । सबैभन्दा धेरै नुवाकोटमा २४६६ जना होल्डिङ सेन्टरमा रहेका छन् ।
संघीय सरकारले रसुवा र नुवाकोटलाई १–१ करोड रुपैयाँ र धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराइएको छ । अन्य प्रभावित १५ पालिकाहरूका लागि ६ करोड ७५ लाख रुपैयाँ निकासा गरिएको छ ।