सुरुङभित्र फसेकाहरुको उद्धार कार्य चुनौतीपूर्ण रहेको रसुवामा खटिएका सैनिक कमाण्डरको भनाई
काठमाडौँ – सुरुङहरूभित्र जमेको लेदो र गेग्रान निकाल्न आधुनिक मेसिन पुर्याउन सडक अभावमा असम्भव देखिएको र मेसिन पुगे पनि सफा गर्न कम्तीमा ३ देखि ४ महिना लाग्ने बताए ।
राणा भन्छन्- यहाँको धरातल देख्नैभएको छ । यो गाह्रो ठाउँ हो । हामी गरिनै राखेका छौँ र मलाई लाग्छ म १० गतेदेखि अहिलेसम्म यहाँ काम गरिराख्या छु । यहाँ खोलाले सबै बाटो लगेको छ । त्यो बाटोको समस्याले गर्दा मेसिन लान नसकेको हो । तर मेसिन गएता पनि काम गर्न सक्ने अवस्था छैन । किनभने टनेलभित्र जम्मै जमेका कुराहरू, त्यसलाई चाहिँ निकाल्न यो दुई-तीन दिनमै हुन सक्ने सम्भावना म देख्दिनँ । त्यो हेर्दाखेरि यहाँलाई वास्तवमा भन्ने हो भने त्यसलाई तीन देखि चार महिनामा पनि त्यो ननिस्कने म आफैँले देखेको छु ।
रसुवागढी हाइड्रोपावरको टर्बाइन क्षेत्र पूरै पानी र लेदोले भरिएको र कोही पनि जीवित भेटिने सम्भावना नरहेकाले त्यहाँको खोजी कार्य हाललाई बन्द गरिएको उनको भनाइ छ ।यस्तै, लाङटाङको सुरुङमा सेनाको टोली ६४ मिटर भित्रसम्म पुगे पनि दुई फिटको पनि ठाउँ नभएकाले अगाडि बढ्न नसकिएको राणाले सुनाए । २१६ मेगावाटको आयोजनाको सुरुङमा भने हिजोदेखि पुनस् खोजी सुरू गरिएको छ ।
धुन्चेभन्दा उत्तरी भेगमा सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध भएकाले उद्धार र राहतका लागि हवाई मार्ग (एयरलिफ्ट) बाहेक अर्को विकल्प नरहेको उनले बताए ।‘नदीको बहाव सामान्यभन्दा ४५ मिटर माथिसम्म पुगेर बस्तीमा प्रहार गरेको छ । टिमुरे र स्याफ्रुबेसी क्षेत्र सबैभन्दा बढी प्रभावित छन् । स्याफ्रुबेसीको आधाभन्दा बढी गाउँ बाढीले बगाएको छ भने टिमुरेको अवस्था अझै जटिल छ’, राणाको भनाइ छ ।
हाल टिमुरेमा सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएर शव निकाल्ने कार्य गरिरहेको र हराइरहेकाहरूको खोजीका लागि जङ्गल र तटीय क्षेत्रका प्रत्येक सेक्सनमा सेनाको टोली परिचालन गरिएको उनले बताए । ‘नेपाल सरकारले स्रोत र साधन पर्याप्त उपलब्ध गराएको छ, हामीसँग सामग्रीको अभाव छैन । अझै पनि कोही जीवितै फेला पर्छन् कि भन्ने आशमा हामीले खोजी कार्यलाई तीव्रता दिइरहेका छौँ,’ उनी भन्छन् ।