बेलायतको Buckinghamshire New University निलम्बन, विदेशी विद्यार्थी भर्ना गर्न नपाउने

बिहिबार, १५ असोज २०८३

काठमाडौं — बेलायत सरकारले Buckinghamshire New University को अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्ने लाइसेन्स निलम्बन गरेको छ । गृह मन्त्रालयले विश्वविद्यालयको ‘Student Sponsor Licence’ सेप्टेम्बर ३० देखि लागू हुने गरी निलम्बन गरेको हो ।

बेलायतको गृह मन्त्रालयअन्तर्गतको UK Visas and Immigration (UKVI) ले सार्वजनिक गरेको आधिकारिक सूचनाअनुसार विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय विद्यार्थी प्रायोजन गर्न अनुमति प्राप्त संस्थाहरूको सरकारी सूचीबाट समेत हटाइएको छ । विश्वविद्यालयले प्रायोजकका रूपमा पूरा गर्नुपर्ने जिम्मेवारी तथा नियम पालन नगरेको आरोपमा लाइसेन्स निलम्बन गरिएको हो । यद्यपि, विश्वविद्यालयमाथि उठाइएका प्रश्न तथा सम्भावित उल्लंघनका विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।


गृह मन्त्रालयले विश्वविद्यालयलाई निलम्बनको निर्णयविरुद्ध प्रमाणसहित जवाफ पेस गर्न २० कार्यदिनको समय दिएको छ । उक्त अवधिभित्र आफ्नो लाइसेन्स पुनर्बहाली हुनुपर्ने आधार विश्वविद्यालयले पुष्टि गर्न नसके लाइसेन्स स्थायी रूपमा खारेज हुन सक्ने सार्वजनिक सूचनामा उल्लेख छ ।

विश्वविद्यालयको प्रायोजनमा बेलायतमा अध्ययन गरिरहेका अन्तर्राष्ट्रिय विद्यार्थीलाई भने यो निर्णयले असर गर्ने छैन । उनीहरूको बेलायत बस्ने अनुमति अर्थात् अध्यागमन अनुमति वैध रहेसम्म निलम्बन अवधिमा पनि नियमित अध्ययन जारी राख्न पाउने गृह मन्त्रालयले स्पष्ट पारेको छ ।

तर विश्वविद्यालयले निलम्बन कायम रहँदासम्म नयाँ अन्तर्राष्ट्रिय विद्यार्थीका लागि Confirmation of Acceptance for Studies (CAS) जारी गर्न सक्ने छैन । CAS का आधारमा भिसा आवेदन दिइसकेका विद्यार्थीको आवेदन निलम्बनसम्बन्धी अन्तिम निर्णय नआएसम्म रोकिएर बस्न, यो विश्वविद्यालयमा जानका लागि तयारी गरिरहेका विद्यार्थीलाई विश्वविद्यालय र UKVI बाट थप निर्णय नआउँदासम्म आर्थिक कारोबार तथा यात्रा योजना अगाडि नबढाउन सुझाव सरकारले सुझाव दिएको छ । उपलब्ध पछिल्लो HESA तथ्यांकअनुसार द्यगअपष्लनजबmकजष्चभ ल्भध ग्लष्खभचकष्तथ मा सन् २०२४/२५ मा एक हजार ५३० अन्तर्राष्ट्रिय विद्यार्थी अध्ययनरत थिए ।

यता विश्वविद्यालयले विद्यार्थी प्रायोजकका रूपमा आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक लिएको बताएका छन् । विश्वविद्यालयका प्रवक्ताले गृह मन्त्रालयले उठाएका धेरै विषय विगतको अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गतिविधिसँग सम्बन्धित रहेको बताएका छन् । सन् २०२५ मा नयाँ उपकुलपति तथा कार्यकारी टोली नियुक्त भएपछि प्रशासन, अनुपालन र अनुगमन प्रणाली सुदृढ बनाइएको विश्वविद्यालयको दाबी छ । विश्वविद्यालयले लाइसेन्स पुनर्बहालीका लागि गृह मन्त्रालयसँग सहकार्य गर्दै सुधारसम्बन्धी प्रमाण बुझाइरहेको जनाएको छ ।

यो विश्वविद्यालय नेपाली विद्यार्थीका लागि नर्सिङ विषय अध्ययनका लागि लोकप्रिय छ ।