कोठा खोज्दै पर्याटन मन्त्री योगेश भट्टराई, क्वाटरमा के भयो ?

बुधबार, २२ साउन २०७६

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भाडाको घर खोजिरहेका छन् । पुलचोकस्थित मन्त्री निवासमा क्वाटर नभएपछि अन्यत्र ठाउँ खोजेको उनको सचिवालयले जनाएको छ ।

अहिले मन्त्री भट्टराई बबरमहलस्थित एकतले (सातवटा कोठा भएको) भाडाको घरमा बसिरहेको र भेटघाटका लागि ठाउँ अभाव भएको सचिवालयले जनाएको छ ।

“मन्त्री भट्टराई भाडाको घरमा बस्दै आउनुभएको छ । भेटघाट र सुरक्षाकर्मीका लागि ठाउँ अभाव भएको छ । देशभरिबाट कार्यकर्ता भेटघाटका लागि आउनेहुँदा समस्या भयो । अन्यत्र घर खोजीरहेका छौँ,” मन्त्री भट्टराईको सचिवालयले भन्यो ।

मन्त्रालयको काममा बाधा नपरोस् र आवतजावत पनि सहज होस् भनेर बबहरमहल आसपासमै क्वाटर खोजेको सचिवालयको भनाइ छ । पुलचोकस्थित मन्त्री निवासमा क्वाटर खाली नभएपछि सञ्चारमन्त्री गोकुल बास्कोटा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्रीको बालकोटमा रहेको घरमा बस्दै आएका छन् ।