अर्को छलाङ हान्दै प्रचण्ड, बाक्लियो शंकास्पद भेटघाट !

शनिबार, २५ साउन २०७६

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुस्पकमल दाहाल (प्रचण्ड) अर्को छलाङ हान्नका लागि कसरत गरिरहेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी ओली स्वदेशमा नरहेको मौका छापेर दाहालले आफू सक्रिय बनेका छन् । ओली स्वदेशमा नरहेका बेला दाहालले पूर्वएमालेका नेताहरूसँग अलग अलग भेट गरेका हुन् । दाहालले वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, महासचिव विष्णु पौडेलसहितका नेताहरूलाई एक्लाएक्लै भेटेका छन् ।

त्यति मात्रै होइन दाहालले माओवादी पृष्ठभूमि भएका नेताहरूलाई पनि खुमलटारमा बाक्लै भेटेको पनि एक नेताले बताए । ‘प्रचण्डले दुबैतिरका नेताहरूलाई एक्लाएक्लै र गोप्य रुपमा भेट्नु भएको छ’, नाम उल्लेख नगर्ने सर्तमा ती नेताले भने, ‘माओवादी पृष्ठभूमि भएका भन्दा पनि एमाले पृष्ठभूमि भएका नेताहरूलाई धेरै भेट्नु भएको छ ।’

भेटका बारेमा केही कुरा आधिकारीक रुपमा जानकारी दिइएको छैन । तर, दाहालले आफूलाई साथ दिनका लागि भेट भएका नेताहरूसँग आग्रह गरेको स्रोतले जनाएको छ ।

पार्टी एकीकरणसँगै पार्टीको नेतृत्व आफूले पाउनुपर्ने बताउँदै आएका दाहालले पहिला भएको सहमति कार्यान्वयनाम जोड दिँदै आएका छन् । सरकारको नेतृत्व ओलीले गर्दा पार्टीको नेतृत्व आफूले गर्न पाउनुपर्ने दाहालको भनाइ छ ।

पूर्वएमाले पृष्ठभूमि भएका नेताहरूसँग दाहालले आफूलाई साथ दिन आग्रह गरेको उच्च स्रोतले जनाएको छ ।

ती भेटहरूमा दाहालले विभाग गठनमा देखिएको विवादमा पनि छलफलहरू भएका छन् । दाहालले स्कुल विभाग र पार्टीले लिने राजनीतिक कार्यदिशाका बारेमा पनि नेताहरूसँग परामर्श गरेको जनाइएको छ ।

प्रधानमन्त्री एवम् अध्यक्ष ओली देश बाहिर रहेका बेला आशंका उत्पन्न हुने गरेर दोस्रो तहका अध्यक्ष दाहालबाट भएका गतिविधिबाट विभिन्न अड्कलबाजी भएका छन् ।