एउटै केटीका ६ जना श्रीमान् ! यस्तो रहेछ भित्री धन्दा

आइतबार, २६ साउन २०७६

काठमाडौं – दिपकराज गिरी र दिपाश्री निरौलाको चलचित्र ‘छक्का पन्जा २’ सर्वाधिक रुचाइएको चलचित्र हो । त्यसमा पनि मामा भनिएर चिनिएका पात्र केदार घिमिरे (माग्नेबुढा)को अभिनयले चलचित्र रसिलो बनेको छ ।

उक्त चलचित्रमा सबैका मामा, माग्ने बुढाले कन्सल्टेन्सी चलाउँछन् । मामाको काम केटीलाई केटा मिलाइदिने र केटालाई केटी मिलाइदिएर नक्कली विवाह गरि अस्ट्रेलियामा डिपेन्डेन्ट भिसामा पठाउने हो । पुरै कन्सल्टेन्सी ब्यवसायकै बदनाम हुनेगरि बनाइएको यो चलचित्रमा जसैगरी रियल मामा फेला परेका छन् ।

चलचित्रका मामाले एउटा केटीको लागि एउटै केटा खोजेर नक्कली विवाह गरेर अस्ट्रेलिया पठाउने काम गर्दथे तर यहाँ एउटै केटीका लागि ६–६ जनासम्म केटा खोजेर ठगी गरेको पाइएको छ । ति मामा हुन्, क्विन्सल्याण्ड एजुकेशन फाउण्डेशनका संचालक मणि निरौला ।

काठमाडौंको पुतलिसडकमा रहेको क्वीन्सल्याण्ड एजुकेश फाउण्डेश कन्सल्टेन्सीका संचालक निरौलाले नक्कली विवाह गराएर श्रीमान–श्रीमतीका रुपमा अष्ट्रेलिया पठाइदिने भन्दै एउटै युवती देखाएर करिब ६ जना युवालाई ठगी गरेको पाइएको छ ।

बिद्यार्थी भिषामा अष्ट्रेलिया जान अयोग्य ६ जना युवालाई रेजिना नाम गरेकी युवतीसँग फरक–फरक समयमा कन्सल्टेन्सीमा भेटाएर रेजिनासँग अष्ट्रेलिया पठाइदिने भन्दै ६ लाखदेखि १५ लाखसम्म लिएको खुल्न आएको छ । प्रहरीका अनुसार कन्सल्टेन्सीले नै रेजिना नाम गरेकी युवतीलाई प्रयोग गरेर यस्तो धन्दा चलाएको हो ।

कन्सल्टेन्सी सञ्चालक मणि निरौलाले रेजिना नाम गरेकी युवती मास्टर्स पढ्न अष्ट्रेलिया जान लागेको, आइएलटिएस टेष्ट, अफर लेटर सबै आइसकेकोले उनैसँग नक्कली विवाह गरेर पठाइदिने भन्दै लाखौँ रुपैयाँ लिएको ती युवाहरुको भनाई छ ।

कन्सल्टेन्सीले ती युवाहरुलाई अष्ट्रेलिया जाने भन्दै युवतीसँग २ मिनेट कुरा गराउने र पैसा लिने गरेको छ । कन्सल्टेन्सी सञ्चालकले काम नभए पैसा फिर्ता गराउने भन्दै चेक समेत दिएका छन् । लगातार एक बर्ष देखि पैसा लिएर प्रोसेसिङ हुँदैछ, भन्दै झुलाएपछि शुक्रबार कन्सल्टेन्सीबाट पीडित व्यक्तिहरुले महानगर प्रहरी वृत सिंहदरबारमा कन्सल्टेन्सी र सञ्चालकविरुद्व उजुरी गरेका थिए ।

युवाहरुको उजुरी पछि प्रहरीले ती कन्सल्टेन्सी सञ्चालक निरौलालाई पक्राउ गरी अनुसन्धान अगाडी बढाएको छ । पीडितहरुका अनुसार कन्सल्टेन्सी सञ्चालकले ४० जना भन्दा धेरैलाई यसरी डिपेन्डेन्ट भिषामा पठाइदिन्छु भन्दै पैसा लिएका छन् । उनले प्रति युवा ३ देखि १५ लाख सम्म उठाएको बुझिएको छ ।

इक्यानको एक्सन्

शैक्षिक कन्सल्टेन्सीको छाता संगठन नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले उक्त कन्सल्टेन्सीसँग स्पष्टिकरण सोधेको । इक्यानका महासचिव शेरराज भट्टराईले शुक्रबारनै उक्त कन्सल्टेन्सीसँग लिखित स्पष्टिकरण सोधेका छन् । क्विन्सल्याण्ड कन्सल्टेन्सी इक्यानकै सदस्य हो तर अहिले उसको सदस्यता खारेज गरिएको छ ।

इक्यानका महासचिव भट्टराईले मोटिभेट न्यूज डटकमसँग कुरा गर्र्दै गलत काम गर्नेहरु एक सेकेण्डपनि इक्यानमा रहन नसक्ने बताए । मणि निरौलालाई हदैसम्मको कारवाहिका लागि प्रहरीलाई अपिल गरेको उनको भनाई छ ।

फोटो मकालुखवर बाट