२३ देशका झण्डै एक सय भन्दा बढी सैन्य-गुप्तचरहरु किन आए काठमाडौँ ?

सोमबार, १८ भाद्र २०७५

भदौ १८, काठमाडौं –विभिन्न २३ देशका झण्डै एक सय भन्दा बढी सैनिक गुप्तचर अधिकारीहरु काठमाडौँको बौद्धस्थित होटल हायातमा भेला भएका छन्। नेपाली सेना र अमेरिकी सेनाको प्यासिफिक कमाण्ड गुप्तचर निर्देशनालयले संयुक्त रुपमा आयोजना गरेको सम्मेलनका लागि उनीहरु काठमाडौँमा भेला भएका हुन्।

सैनिक जनसम्पर्क निर्देशनालयले बताए अनुसार पहिलो पटक सञ्चालन भएको यस कन्फरेन्समा २३ राष्ट्रका ८३ जना उच्च सैनिक अधिकारीहरु सहभागी छन्। अमेरिकी सेनाको प्यासिफिक कमाण्ड अन्तर्गत ४६ देशहरु पर्छन्। त्यसमध्ये सम्मेलनमा २३ देशको मात्र सहभागिता रहेको छ।

नेपाली सेनाबाट २० जना सहभागी रहेकाले सम्मेलनमा सहभागी हुने सैन्य-गुप्तचर अधिकारीहरुको संख्या १०३ रहेको छ। सम्मेलनमा सहभागीहरुलाई विभिन्न पर्यटकीय स्थलसमेत घुमाइँदैछ। सम्मेलनको उदघाटन कामु प्रधानसेनापति रथी पूर्णचन्द्र थापाले गरेका थिए। यस्तो प्रकारको सम्मेलनले सैनिक गुप्तचरी क्षमता अभिबृद्धि हुने सेनाले बताएको छ।