नेतामाथिको कारवाहीबारे आयो विप्लवको विज्ञप्ति

मंगलबार, २८ साउन २०७६

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीले स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ का बारेमा संचारमाध्यमहरुमा आएका समाचार झुटा भएको बताएको छ ।

उसले विज्ञप्ति नै निकालेर केही सञ्चारमाध्यममा प्रकाशित र प्रसारित समाचार भ्रामक, नियोजित र षड्यन्त्रपूर्ण भएको भन्दै उक्त झुट्टा प्रचार भन्दै त्यसलाई खण्डन गरेको छ ।

विप्लव नेतृत्वको नेकपाका केन्द्रीय कार्यालय सचिव सुशीलले विज्ञप्ति जारी गरेर प्रतिधु्र्वीय तत्वहरूले उक्त सुनियोजित षड्यन्त्र गरेकोठहर गरेका छन् । हाल नख्खु कारागारमा रहेका सुदर्शनलाई जिम्मेवारीबाट मुक्त गरिएको भन्दै केही संचारमाध्यमहरुले समाचार प्रकाशित गरेका थिए । त्यसैगरी केहीदिनअघि गम्भीर, ध्रुबलगायतलाई कारवाही गरिएको भन्ने समाचार पार्टीविरुद्ध गरिएको षड्‍यन्त्र भएको सुशिलले बताएका छन् ।

केन्द्रीय कार्यालयका तर्फबाट सुशीलले सोमबार साँझ प्रेस विज्ञप्ति गर्दै सरुवा, बढुवा, स्थानान्तरण वा जिम्मेवारी परिवर्तन पार्टी सङ्गठनको सामान्य प्रक्रिया भएको उल्लेख गर्दै सञ्चारमाध्यममा आएका समाचार गलत र भ्रामक भएको स्पष्ट पारेका छन् । साथै विचार, सङ्गठन र कार्यदिशाबाट अलग भएका बाहेक कसैलाई कारबाही नगरिएको पनि कार्यालय सचिव सुशीलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।