प्रेरक प्रसंग : ‘गुरुदेव ! त्यो फूल टिपेर ल्याऊँ ?’
काठमाडौं – औषधिको खोजीमा एकपटक राजवैध चरक कयौं दिनदेखि आफ्ना शिष्यका साथ गाउँ घुमिरहेका थिए । त्यसैले उनको दृष्टि एउटा किसानको बगैचामा फुलिरहेको फूलमा पर्यो । त्यो उनले खोजिरहेकै फूल थियो ।
उनले उत्सुकतापूर्वक फूल हेरे, तर टिप्नकालागि पाइला अघि बढाएँनन् । गुरुका गतिविधि नियालिरहेका शिष्यले सोधे, ‘गुरुदेव ! त्यो फूल टिपेर ल्याऊ ?’
शिष्यलाई रोक्दै चरकले भने, ‘फूल त हामीलाई चाहिन्छ, तर बगैचाको मालिकलाई नसोधी टिप्यो भने चोरीको बात लाग्छ ।’
शिष्यले छक्क पर्दै भने, ‘गुरुदेव हजुरलाई त राजाको आज्ञा छ । विनाअनुमति पनि जो कोहीको बगैचाबाट फूल टिप्न सक्नुहुन्छ ।’
चरक भने, ‘राजाज्ञा र नैतिकतामा फरक हुन्छ शिष्य हो ।’
‘भनाईको मतलब ?’ शिष्य थप जिज्ञासु भए ।
प्रष्ट पार्दै चरकले भने, ‘अनुमति मागेर टिप्यौ भने उनि खुशी हुन्छन । अनुमति लिएनौ भने उनको मन खिन्न हुन्छ । राजाज्ञा छ भन्दैमा यदि हामीले आश्रितहरुको सम्पत्तिलाई विनाअनुमति स्वच्छ तरिकाले प्रयोग गर्यौ भने उनीहरुमा आदर्श कसरि जागृत होला ।’
चरकका कुराले शिष्यहरु नतमस्तक भए ।
तसर्थ, अरुको स्वामित्वको बस्तु विना अनुमति प्रयोग गर्नु नौतिकता विपरितको कुरा हो ।