दर्ता भयो रवि लामिछानेका विरुद्ध मुद्वा, अनुसन्धानको क्रममा भेटियो यस्तो प्रमाण ?

आइतबार, ८ भाद्र २०७६

काठमाडौं – शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा टेलिभजन प्रस्तोता रवि लामिछानेसहित तीन जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को सहयोेगमा १० दिन लामो अनुसन्धानपछि चितवन प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत आइतबार लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको हो ।

मुद्धा दर्ता भएलगत्तै वयान सुरु भयो । आइतबार अभियुक्त अस्मिता भनिने रुकु कार्कीको वयान सकिएको छ । तर, रवि र युवराज कँडेलको वयान बाँकी नै रहेकाले भोलि सोमबार बिहान १० बजे उपस्थित गराउने गरी तीनैजनालाई प्रहरी हिरासतमा पठाइएको जिल्ला अदालत चितवनका श्रेश्तेदार रुद्रमणि गिरीले बताए ।

तीनैजनाको वयान सकिएपछि थुनछेक बहस हुनेछ ।

मुलुकी अपराध संहिताको दफा १८५ अनुसार आत्महत्या दुरुत्साहनको मुद्दामा दोषी ठहर भए ५० हजारसम्म जरिवाना, ५ वर्षसम्म जेल वा दुबै सजाय हुन सक्छ ।

के–के भेटियो अनुसन्धानमा ?

प्रहरीले लामिछानेसहित तीनजनालाई दुई ५÷५ दिन म्यान थप गरेर अनुसन्धान गरेको थियो । यसक्रममा पुडासैनीको मोबाइलमा बरामद भएको भिडियो क्लीपमा ‘छेडछाड’ नभएको प्रहरी प्रयोगशालाले रिपोर्टले देखाएको छ ।

अनुसन्धानलाई सघाउन चितवन पुगेका सीआईबीका प्रहरी उपरीक्षक (एसपी) दीपक रेग्मीले भने, ‘बरामद भिडियोमा ट्याम्परिङ (छेडछाड) भएको छ÷छैन भनेर परीक्षणका लागि डिजिटल फरेन्सिक ल्याब (डीएफएल) मा पठाइएको थियो । ल्याबले छैन भन्ने रिपोर्ट दिएको छ ।’

रेग्मीका अनुसार भिडियोबाहेक थप प्रमाण संकलन भएको छ, जसबारे अनुसन्धान रिपोर्टमा उल्लेख गरिएको छ । अनुसन्धानका क्रममा प्रहरीले मृतक पुडासैनी र आत्महत्या दुत्साहनको आरोपमा लागेका ३ जनाको डिजिटल कनेक्सन खोतलेको थियो । लामिछाने, कँडेल र कार्कीको मोबाइलको कल डिटेल रेकर्ड (सीडीआर), लोकेशन लगायतका विषय केलाएको थियो ।

त्यस्तै, तीनजनाको वयान पनि लिएको छ । त्यसक्रममा लामिछाने र कार्कीको वयान बाझिएको अनुसन्धान अधिकृत बताउँछन् । रविले यसअघि आफूले अस्मितालाई नचिनेको दाबी गरेका छन् भने अस्मिताले भने पुरानो चिनजान भएको बताएकी छन् ।

त्यसैगरी पुडासैनीको आत्महत्यालगत्तै लामिछाने र कँडेल कार्यरत संस्था न्यूज २४ टेलिभिजनले पनि अस्मितालाई पटक–पटक सम्पर्क गरेको पनि देखिएको छ ।