शालिकरामको भिडियो कसले खिचेको थियो ? बाहिरियो तथ्य, प्रहरीको जवाफ यस्तो

बुधबार, ११ भाद्र २०७६

काठमाडौँ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा भदौ ९ गते जिल्ला अदालत चितवनले पुडासैनीले मृत्युअघि खिचेको भनिएको भिडियोबारे प्रश्न उठाएपछि त्यसबारे बहस सुरु भएको छ ।

थुनछेक बहसपछि आएको आदेशले के शालिकरामले आत्महत्या अघि एक्लैले सबै भिडियो खिचेका थिए वा अरु कसैको सहयोग गरेको थियो भन्नेबारे प्रश्न उठाएपछि यसबारे बहस सुरु भएको हो ।

जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलले ‘मर्नुअघि शालिकरामले खिचेको भिडियो उनी आफैँले खिचेको नभई अर्कै व्यक्तिको सहयोग लिई खिचेको देखिन्छ’ भन्दै यसमा अर्को व्यक्तिको संलग्नता भएको आशंका गरेका छन् ।

मिसिलको तथ्य विश्लेषण गर्ने क्रममा पृष्ठ ७ र ८ मा अदालतले गरेको तथ्य विश्लेषणमा यस्तो लेखिएको छ– ‘निजले घटनास्थलको सो कोठामा उपयुक्त उचाइको स्थानमा आफ्नो मोबाइल भिडियो रेकर्ड मोडमा स्थिर राखी भिडियो खिचेको हो भने घटनास्थल मुचुल्का र बरामदी मुचुल्कामा मोबाइल त्यस्तो स्थानमा राखेको अवस्थामा भेटिएको भन्ने व्यहोरा उल्लेख भएको पनि देखिएन । अतः सो भिडियो रेकर्ड हुँदा निज शालिकराम पुडासैनीले अर्को कुनै व्यक्तिको सहयोगमा सो भिडियो रेकर्ड गरेको अवस्था देखिन्छ ।’ यसबाट प्रहरीले मुचुल्का तयार गर्ने क्रममै कमजोरी गरेको अदालतको आदेशले देखाउँछ ।

सँगसँगै अदालतले भिडियो कहाँ, कहिले र कसरी कुन अवस्थामा खिचिएको हो भन्ने स्पष्ट नभएको भन्दै आधिकारिकतामाथि नै प्रश्न उठाइदिएको छ ।

अदालतको यस्तो ठहरसँगै यो प्रकरणमा एकमात्र सबुतका रुपमा मानिएको भिडियोको वास्तविकता के हो ? के भिडियो उनी आफैले खिचेका थिए वा आत्महत्या गर्नेबारेमा बोल्दै गरेको भिडियो अर्को कुनै व्यक्तिले खिचिदिएको हो ? भिडियो आत्महत्या गरेकै कोठामा खिचिएको हो वा अन्त कतै खिचिएको थियो ? यदि अर्कै व्यक्तिले भिडियो खिचिदिएका हुन् भने ती व्यक्ति को थिए ? यही विषयमा प्रश्न उठेको हो ।

प्रहरीले भने मुचुल्का तयार गर्दा घटनाक्रमको फेहरिस्तसहितको प्रतिवेदन सरकारी वकीलको कार्यालमा पेश गरेको थियो । यद्यपि अदालतले प्रश्न उठाएको विषयमा भने प्रहरीको प्रतिवेदन मौन छ ।

अदालतका न्यायधीशले गहिरिएर मिसिलको अध्ययन नगरेको प्रहरीको गुनासो छ । पुडासैनीले सेल्फी लिएर भिडियो खिचेको विषयमा अदालत बोलेको कुरा अचम्म लाग्दो रहेको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दानबहादुर मल्लले बताए । उनले यसबारे अरु थप प्रतिक्रिया भने दिन चाहेनन् ।

जसमा उल्लेखित विवरणको सारांश यस्तो छ–

मितिः २०७६ साउन २० गते

स्थानः कंगारु होटल, चितवन नारायणगढ

समयः ३ः२० देखि ३ः३० बजे । शालिकराम होटल बुक गर्न पुग्छन् ।

३ः३२ बजे होटलबाट बाहिरन्छन् ।

३ः४५ बजे होटलमा पुनः फर्किन्छन् ।

३ः५४ बजे ४ मिनेट ८ सेकेण्डको पहिलो भिडियो रेकर्ड गर्छन् ।

४ः०१ बजे ८ मिनेट २७ सेकेण्डको दोस्रो भिडियो रेकर्ड गर्छन् ।

४ः२२ बजे श्रीमतीलाई फोन गर्छन् ।

४ः३६ बजेपछि उनको मोबाइलमा कुनै डिटेल्स देखिँदैन ।

पुडासैनी २० साउनमा चितवनको नारायणगढस्थित कंगारु होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए । मृत भेटिएका पुडासैनीको साथबाट प्रहरीले माथि उल्लेखित समयमा रेकर्ड गराइएको दुई वटा भिडियो बरामद गरेको थियो ।

मृत्युअघि बनाइएको भिडियोलाई प्रमुख आधार बनाएर प्रहरीले अनुसन्धान सुरु गर्यो भने भिडियो परीक्षणको लागि फरेन्सिक ल्याबमा पठाइयो । परीक्षणको क्रममा १३ मिनेट २७ सेकेण्डको भिडियो पुडासैनी आफैंले मर्नुअघि खिचेको पुष्टि भएको थियो ।

तर, जिल्ला अदालत चितवनले प्रमाणको रुपमा पेश गरेको आदेशमा भिडियो अर्कै व्यक्तिले खिचेको हुनसक्ने ठहरसहित आदेश आएको हो  । अदालतले उक्त भिडियो रेकर्डको समयमा अन्य कुनै व्यक्तिको सहयोग पुडासैनीले लिएको हुनसक्ने आशंका गरेको छ ।

के अर्कैले खिचेको थियो त उक्त भिडियो ?

पुडासैनीले मृत्युअघि खिचेको भनिएको भिडियो अदालतले कुनै व्यक्तिको सहयोगमा खिचेको हुनसक्ने भन्दै गर्दा प्रहरीले भने परीक्षणको क्रममा भिडियो पुडासैनी आफैँले खिचेको पुष्टि भइसकेको दाबी गरेको छ ।

पुडासैनी २० गते बिहान ९ बजेतिर रिर्पोटिङको लागि भन्दै काठमाडौँबाट चितवन गएको पाइएको छ । रिपोर्टिङको लागि चितवन जान लागेको कुरा पुडासैनीले श्रीमतीलाई पनि भनेका थिए ।

जुन कुरा शालिकरामकी श्रीमती सम्झना पुडासैनीले पनि बताएकी छिन् ।

चितवन जानुअघि पुडासैनीले चितवनकी एक महिला पत्रकारलाई फोन गरेको समेत पाइएको छ । नाम नबताउने सर्तमा ती महिला पत्रकारले भनिन्, ‘शालिकरामजीले त्यसै दिन विहान मलाई  फोन गरेर  आफ्नो  पूर्वप्रेमिकाले  एकदम तनावमा पारेको बताउँदै हुनुहुन्थ्यो । मैले केहीबेर सम्झाएको पनि थिएँ  । त्यसअघि मलाई त्यसरी उहाँले व्यक्तिगत कुरा कहिल्यै गर्नुभएको थिएन ।’

शालिकराम त्यसैदिन कंगारु होटल ३ बजेर २० मिनेटदेखि ३ बजेर ३० मिनेटको बीचमा पुगेर कोठा बुक गरेको खुलेको छ।

https://www.youtube.com/watch?v=TSfxw8OH05A

कोठा ‘बुक’ गरेपछि…

शालिकरामले २०२ नम्बरको कोठा बुक गरेका थिए । कोठा बुक गरेको एकछिनमै शालिकराम ३ः३२ बजे बाहिर निस्किन्छन् । प्रहरीका अनुसार बाहिर निस्केको समयमा शालिकरामले डोरी किनेको हुनुपर्छ । जुन कुरा होटल सञ्चालकले पनि बयानका क्रममा उल्लेख गरेका छन् ।

प्रहरीले पोखरा बसपार्कस्थित श्रेष्ठ ब्रदर्स होलसेल पसलबाट शालिकरामले ५ मिटर डोरी किनेको सीसीटिभी फुटेजबाट देखिएको बताएको थियो । प्रहरीका अनुसार शालिकरम ३ः४५ बजे डोरी किनेर होटल फर्किन्छन् ।

डोरी किनेर होटल फर्केपछि मात्रै शालिकरामले भिडियो बनाएको प्रहरीको दाबी छ ।

जम्मा १३ मिनेट २५ सेकेण्डको भिडियो शालिकरामले खिचेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

पहिलोपटक खिचिएको भिडियो ४ मिनेट ५८ सेकेण्ड र दोस्रोपटक खिचिएको भिडियो ८ मिनेट २७ सेकेण्डको रहेको छ । शालिकरामले  पहिलो भिडियो ३ः५४ बजे र दोस्रो भिडियो ४ः०१ बजे खिचेको बताइएको छ ।

प्रहरीको दाबी अनुसार शालिकरामले भिडियो होटल कंगारुमा नै खिचेका हुन् । भिडियो बनाउनुअघि पुडासैनीले काठमाडौँमा रहेकी श्रीमती सम्झनालाई ४ बजेर २२ मिनेट जाँदा फोन गरेको देखिन्छ ।

दिउँसै कोठामा गएका पुडासैनी राती करिब ९ बजेसम्म खाना खान नआएपछि होटलका कर्मचारी बोलाउन पुगे । भित्रबाट ढोकामा ‘लक’ लगाइएको थियो ।

बोलाउन जाँदा पनि पुडासैनी नआएपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरे । प्रहरीले ढोका फुटाएर हेर्दा पुडासैनी डोरीको पासोमा झुण्डिएको अवस्थामा भेटिएका थिए । त्यतिबेला ८ बजेर ४९ मिनेट गएको प्रहरीको भनाई छ ।

४ बजेर ३६ मिनेटपछि पुडासैनीको मोबाइलमा कुनै कल डाटा नभेटिएकाले भिडियो रेकर्ड गरेको र श्रीमतीलाई फोन गरेको केहीबेरमै पुडासैनी झुण्डिएको हुनसक्ने प्रहरीको आशंका छ ।

‘के सेल्फी भिडियोमा नमस्ते गर्न सकिन्छ ?’ भनेर पत्रकार उमेश श्रेष्ठले आफ्नो ब्लग माइसन्सारमा विश्लेषण समेत गरेका छन् ।

हेरौँ उनको भिडियो :

यो सामाग्रि रातोपाटीका लागि सुजन पन्तले तयार पारेका हुन् । हामीले रातोपाटीबाट साभार गरेका छौं ।