प्रचण्डले सक्छन् भने पूर्वराजालाई जेलमा राख्न सुन्दरमणिको चुनौति

शनिबार, १४ भाद्र २०७६

काठमाडौं नागरिक समाजका अगुवा डा.सुन्दरमणि दीक्षितले प्रधानमन्त्रीको कुरालाई तोडमोड गर्ने सञ्चारमन्त्री गोकुल बास्कोटालाई तत्काल कारबाही गर्न माग गरेका छन् ।

शुक्रबार संवाद चौतारीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री उपचारको लागि सिंगापुरमा रहेको बेला नेपालमा मन्त्रिपरिषद्को बैठक बसेको र भिडियो कन्फरेन्समार्फत आफूले नै अध्यक्षता गरेको कुरा सामाजिक सञ्जालमा बताए पनि सञ्चारमन्त्रीले मन्त्रिपरिषद्को बैठक नै बसेको होइन भनेकाले उनीमाथि कारबाही हुनुपर्ने बताए । ‘प्रधानमन्त्रीको कुरा काट्न मिल्छ ? सञ्चारमन्त्रीको यो कस्तो काम हो त्यसकारण उनलार्ई तत्कालै पदबाट हटाउनपर्छ ’ उनले भने । पूर्वराजाको विषयमा चाहिनेभन्दा बढी र अनाबश्यक हल्ला गरिएको बताउँदै सरकारको दम छ भने जेल हालेर देखाउन चुनौति दिए । ‘प्रचण्ड र माधव नेपालजीहरु पूर्वराजालाई यसो गर्छु उसो गर्छु भन्दै हिडेका छन् । यदि उनीहरुमा क्षमता र साहस भने तुरुन्तै जेल हालेर देखाए हुन्छ । अब नेपाली जनता नेताको कुरामा भन्दा काममा विश्वास गर्ने भएका छन् । ’

प्रधानमन्त्रीको उपचार गर्ने प्रविधि नेपालमा नभएकाले विदेशमा जानुलाई सबैले अन्यथा ठान्न नहुने बताउँदै उनले एनसेल कर छली प्रकरण, वाइडबढी काण्ड, सुनकाण्ड र सामान्य बिरामी हुँदासमेत ठुला नेताहरुको विदेश मोहलाई भने नेपाली जनताले साथ नदिने बताए । यहाँ सामान्य उपचार गर्न सकिने रोग लागेका नेताहरु देशको ढुकुटी खर्च गरेर विदेश शयरमा जाने प्रवृत्तिले नेपालको स्वास्थ्य क्षेत्रको विकास नहुने उनले बताए । पञ्चायत कालमा भन्दा अहिले सयौं गुणा भ्रष्टाचार बढेको उल्लेख गर्दै नेपालको विकास गर्ने हो भने संस्थागत रुपमा मौलाएको भ्रष्टाचारमा सरकार कठोर हुनैपर्ने उनको जोड थियो ।

विप्लव माओवादीप्रति सरकारले दमनको नीति छोडेर वार्ता र सम्वादबाट अगाडि बड्नुपर्छ भन्ने आफ्नो धारणा रहेको र केही समयअघि प्रधानमन्त्रीसँग कुरा हुँदा सरकार र विप्लव माओवादीबीच भित्रि रुपमा संवाद भइरहेको उनले बताएको उल्लेख गरे । मेलम्ची खानेपानीे बारेमा सम्बन्धित मन्त्रीको कमजोरी रहेको बताए । जनतालाई खानेपानी दिने मन्त्री नै बोटल वाटर बिक्रिमा लाग्नु दुर्भाग्यपूर्ण भएको बताए । ‘पोहोर दशैंमा काठमाडौंवासीलाई मेलम्चीको खानेपानी दिन्छु भनेर वाचा गर्ने मन्त्रीले १ वर्षसम्म पनि ल्याउन नसक्दा जिम्मेवारीबोध गरेर राजीनामा दिनुपर्दैन ।’

आफूलाई जनताको सेवक भन्ने माओवादीका नेताहरु नै राजर्षी ठाँटमा लागेको कुरा स्वयं प्रचण्डले स्वीकार गरेको उनले बताए । निर्मला हत्याकाण्डले नेपालको न्यायको उदाहरण पेस गरेको बताउँदै गर्नुपर्ने अनुसन्धान नगरेर सरकारले जनतालाई भुल्याउन नाटकमात्रै मञ्चन गरेको बताए । आफूले २००७ सालदेखिको परिवर्तनलाई अनुभव गरेको बताउँदै दीक्षितले बाहिरी सतहबाट हेर्दा केही विकास भएको जस्तो देखिए पनि भित्रभित्र धमिराले खोक्रो पारिसकेको बताउँदै आफू परिवर्तनको पक्षमा लाग्दा अनावश्यक लान्छना लाग्ने गरेकोप्रति दुःख ब्यक्त गरे । उनले नेपाली समाजमा मिलेर बस्ने हो भने एकले अर्काको अस्तित्वलाई स्वीकार गरेर अगाडि जानुको विकल्प नभएको बताए ।