दशैंको अग्रिम टिकट बुकिङ अनिश्चित, यातायात व्यवसायीले राखे सरकारसँग अनौठो माग
काठमाडौं – नेपालीहरूको महान् चाड दशैं नजिकिँदै छ । लाखौं नेपाली दशैंमा घर जाने मनस्थितिमा छन् । तर, यातायात व्यवसायीहरूले दशैंका लागि अग्रिम टिकट बुकिङ गर्न बार्गेनिङ गरेको आजका पत्रपत्रिकाहरूले खबर लेखेका छन् ।
राजधानी दैनिकका अनुसार, यातायात व्यवसायीहरूले टिकट बुकिङअघि भाडा बढाउन प्रस्ताव गरेका छन् । भाडा नबढेको पाँच वर्ष भइसकेको र यस अवधिमा पाटपुर्जा र कर्मचारीको तलब धेरै बढेकाले भाडाको विषयमा बुझिदिन उनीहरूले सरकारसँग आग्रह गरेका छन् । व्यवसायीहरूले यातायात समिति खारेजीपछि नयाँ बस नथपिएकाले व्यवस्थापन कठिन भएको गुनासो गरेका छन् ।
कारोबार दैनिकका अनुसार, यातायात व्यवसायीहरूले दशैंलाई देखाएर बार्गेनिङ गर्दा टिकट बुकिङमा अन्योलता पैदा भएको छ । बुकिङका विषयलाई लिएर यातायात व्यवसाय राष्ट्रिय महासंघ र सरकारबीच वार्ता भए पनि एक सातापछि बस्नेगरी बिनानिष्कर्ष टुंगिएको समाचारमा उल्लेख छ ।