मेयरलाई भकाभक जेल हाल्दै लालबाबु पण्डित, को–को पर्दैछन् पहिलो चरणमा ?
सप्तरी – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले गलत काम गर्ने नगरपालिकाका मेयर÷उपमेयर तथा गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्षलाई एकएक गर्दै जेल पठाउने धम्की दिएका छन् । पण्डितले भ्रष्टाचार र गलत काम गर्नेलाई पक्राउ गरेर थुन्ने कामलाई निरन्तरता दिइने उल्लेख गर्दै यस्ता व्यक्तिलाई थुन्न ठूला–ठूला हल बनाउनु परे पनि संघीय सरकार तयार रहेको बताए ।
बिहीबार सप्तरीमा आयोजित कार्यक्रममा मन्त्री पण्डितले कागजमा काम हुने र जनताले नदेख्ने सम्पूर्ण योजना छानबिनको जिम्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिइएको उनले बताए । स्थानीय तहमा उपभोक्ता समितिमार्फत र अन्य निकायबाट भएका विकास निर्माणका योजनाको छानबिनका लागि अख्तियारलाई जिम्मेवारी दिइएको उनको भनाई छ ।
‘अहिले गलत काम गर्नेलाई थुनेर अख्तियारको कोठाहरु भरिभराउ बनेको छ’ मन्त्री पण्डितले भने, ‘तर पनि भ्रष्टाचारी पक्रिन रोकिने छैन । उनीहरुलाई थुन्नका लागि ठूला–ठूला हल बनाउन पनि हामी तयार छौं ।’ गलत गर्ने जनप्रतिनिधि वा राष्ट्रसेवक कसैलाई पनि नछाड्ने उनले बताए । काका, भतिजा, दाजुभाइको नेतृत्वमा उपभोक्ता समिति बनाएर काम गर्ने जनप्रतिनिधिविरुद्ध सरकार कठोर रुपमा भन्दै उनले ठेकदारलाई कामको जिम्मेवारी दिने उपभोक्ता समितिका पदाधिकारीलाई पनि समातिने बताए ।
उनले अघि भने, ‘यस्ता काममा कुनै मन्त्री संलग्न छन् भने त्यस्ता मन्त्रीलाई पनि जेल जानुपर्छ । मेयरको संलग्नता भए उनलाई पनि जेल जानुपर्छ ।’ इन्डोनिसियामा १ सय मेयर जेलमा रहेको दृष्टान्त सुनाउँदै मन्त्री पण्डितले भने, ‘नेपालका कति जना जेलमा जानुहुन्छ, हेर्नुहुन्छ ।’