प्रेरक प्रसंग : राजाले त्यागेको त्यो आर्शिवाद !
काठमाडौं – कुनै देशका राजा अत्यन्त सरल स्वभावका थिए । उनको आचरणले मानिस मात्र होइन देवताहरु प्नि प्रसन्न थिए । एक दिन उनका इस्टदेवताले उनलाई एउटा तरबार दिँदै भने–‘तिमी यो तरबार राख, यसले तिमी सारा संसार जित्नेछौं ।’
राजाले भने –‘संसारलाई अधीनमा गराएर मैले अभिमानबाहेक अरु के नै पाउछु र ? त्यसैले मलाई यो तरबारको कुनै जरुरत छैन ।’ इस्टदेवताले भने–‘त्यसो भए यो एउटा पारसमणि राख, यसले तिमीलाई कुबेर बनाउँछ ।’ राजाले भने–‘मेरो राज्यमा बस्ने सबै सुखी र सम्पन्न छन् त्यो भन्दा बढी मलाई अरु केही चाहिएको छैन ।’
इस्टदेवताले भने–‘त्यसो भए यी स्वर्गकी सबैभन्दा राम्री अप्सरालाई राख ।’ राजाले भने– ‘मेरो निवासमा भएकी श्रीमती नै मेरा लागि सबैभन्दा राम्री अप्सरा हुन् तिनीबाहेक मलाई अरु कुनै अप्सरा चाहिएको छैन । ’ अन्त्यमा इस्टदेवताले भने–‘त्यसो भए तिमी आफैं भन म तिमीलाई के दिऊँ ?’
राजाले भने–‘दिने भए हजुरले हातमा लिनुभएको फूलको विरुवा दिनुहोस् जसलाई म पृथ्वीमा रोप्नेछु । बिरुवा बढ्छ फूल लाग्छ बास्ना फैलन्छ बटुवाहरु सुगन्ध लिँदै हिड्छन् । त्यसैमा म रमाउँछु ।’
राजाका कुराले इस्टदेवता प्रसन्न भए । अनि हातमा भएको फूलको बिरुवासँगै सँधै खुसी हुने आशीर्वाद दिए । यसर्थ सुगन्ध फैलाउनदेखि भगवान सुखी हुन्छन् तर दुर्गन्ध फैलाउनेदेखि दुःखी । समाजमा दुर्गन्ध फैलाउनेले अनन्तकालसम्म नरकमा बस्नुपर्छ ।